१ कार्तिक २०८३, शनिबार

जर्मन सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Germany-Nepalकाठमाडौँ, १० मङ्सिर । सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि जर्मन सरकारले अतिरिक्त सहयोग अनुदानस्वरुप उपलब्ध गराएको रु तीन अर्ब ४४ करोड ३७ लाख स्वीकार गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जर्मनीले उपलब्ध गराएको रु दुई अर्ब ८७ करोड वित्तीय सहायता र रु ५७ करोड ३७ लाख बराबरको प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा गरिने ‘सुरक्षित सामूहिक आवाससम्बन्धी कार्यविधि–२०७२’ लाई विधायन समितिमा छलफलका लागि पठाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

जाडोको मौसममा भूकम्प प्रभावित क्षेत्रमा करिब ५० वटा सामूहिक आवास भवन निर्माण गर्ने प्रक्रियालाई सरकारले अगाडि बढाएको हो । प्रवक्ता राईले उक्त कार्यविधि तत्कालै पारित गरेर काम अगाडि बढाउन लागिएको बताउनुभयो ।

त्यसैगरी, बैठकले सहसचिव चक्रबहादुर बुढालाई राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा, रामकृष्ण सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा, कमलप्रसाद भट्टराईलाई संस्कृति तथा पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा, डन्डुराज घिमिरेलाई सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, ऋषिराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ । रासस