काठमाडौँ, ९ मङ्सिर । नेपाल निर्माण व्यवसायी सङ्घ (हालको नेपाल निर्माण व्यवसायी महासङ्घ) का संस्थापक अध्यक्ष तथा उद्यमी वनवारीलाल मित्तलको ७९ वर्षको उमेरमा आज निधन भएको छ ।
छ महिनादेखि मस्तिष्कसम्बन्धी रोगले अस्वस्थ हुनुभएका मित्तल भारतको मेदान्त अस्पतालमा उपचार गराई सोमबार नेपाल फर्कनुभएको थियो । विसं २०१३ बाट निर्माण व्यवसायमा लाग्नुभएका मित्तलले १६ वर्ष अघिदेखि हेलिकप्टर व्यवसाय सुरु गर्नुभएको थियो । उहाँको हेलिकप्टर व्यवसाय सफल मानिन्छ । मित्तलको आज बिहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो ।
उहाँले सुरु गर्नुभएको श्री एयरलाइन्स नेपालकै सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी मानिन्छ । श्री एयरलाइन्सका दुईवटा हेलिकप्टर दक्षिण एसियाबाटै पहिलोपटक संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा प्रयोग भएको छ । उहाँ हालसम्म एयरलाइन्सका अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँले नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमिति सदस्य, नेपाल उद्योग परिसङ्घको संस्थापक सदस्य, नेपाल मारवाडी सेवा समितिका पूर्व अध्यक्ष, नेपाल मारवाडी परिषद्का सल्लाहकार, नेपाल आँखा अस्पतालका संस्थापक अध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष लगायतका पदमा बसी सामाजिक सेवा गर्नुभएको थियो ।
निर्माण व्यवसाय, हवाईसेवा क्षेत्र, चिया, शिक्षालगायत व्यवसायमा उहाँको संलग्नता थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
उहाँको आजै पशुपति आर्यघाटमा विधिपूर्वक अन्त्येष्टि गरिने महासङ्घका अध्यक्ष शरदकुमार गौचनले जानकारी दिनुभयो । रासस














प्रतिक्रिया