– विमल योगी
काठमाडौं, ९ मंसिर । राज्य व्यवस्था समितिमा सत्तारुढ दल नेकपा (एमाले)का सांसदहरूले भारतीय राजदूत रञ्जीत राय आन्दोलनरत मधेसी मोर्चाको प्रवक्ता बनेको आरोप लगाएका छन् ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसद यज्ञ सुनुवारले भारतीय राजदूत रञ्जीत रायले मधेसी मोर्चाको प्रवक्ता बनेर आन्दोलनकारीलाई उक्साएको आरोप लगाउनु भयो । उहाँले मधेसी मोर्चाको प्रवक्ता बन्ने राजदूत रायलाई देशनिकाला गर्न माग गर्नुभयो ।
‘राजदूत राय आन्दोलनकारी प्रवक्त बने । अब उनलाई नेपालबाट लखेट्न ढिला नगरौं’, उहाँले भन्नुभयो ।
उहाँले भूकम्पको व्यथामा रहेका पहाडी समुदायलाई मधेसी जनताहरूले साथ नदिएको गुनासो गर्नुभयो । ‘भूकम्पबाट प्रभावित पहाडी र हिमाली क्षेत्रका जनतालाई मधेसी साथी बन्न सकेनन्’, सांसद सुनुवारले भन्नुभयो, ‘एउटा नेपाली अर्को नेपालीका दुःख सुख्खको साथी बन्नुपर्छ ।’
बैठकमा एमालेका अर्का सांसद युवराज ज्ञवालीले आन्दोलनका नाममा सीमा नाकामा बसी नाकाबन्दी गरेर राम्रो नगरेको बताउनुभयो ।
उहाँले राजमार्ग अवरोध गरेर जनतालाई दुःख दिने मधेसी नेताहरूले उचित नगरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दिउँसो दशगजामा बसेर नाकाबन्दी गर्ने मधेसी मोर्चाका नेताहरू रातिराति तेलको तस्करी गरेर करोडौं कमाइरहेका छन् ।’
उहाँले मधेसी दलका नेताहरूले बोर्डर बन्द गरेर मधेस आन्दोलन झन् पछाडि परेको बताउनुभयो । ‘यो आन्दोलन पूर्ण रुपमा गलत छ । यसरी हुँदैन राजनीतिक रुपमा समाधान खोज्नुपर्छ ।’
एमालेका उपाध्यक्षसमेत रहनुभएका सांसद ज्ञवालीले भारतीय राजदूत आफ्नो मर्यादा विपरितका क्रियाकलापमा लागेको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले राजदूत रायलाई पदीय मर्यादामा बस्न सुझाव दिनुभयो ।
एमालेकै अर्की सांसद गौरी ओलीले भारतीय राजदूत रञ्जीत राय मधेसी मोर्चाको प्रवक्ता बनेकाले तत्काल नेपालबाट लखेट्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले मधेसी आन्दोलन उचालेर नेपाली जनतालाई दुःख दिने भारतीय पक्षको नीति गलत रहेको बताउनुभयो ।
‘भारतमा बसेर मासुभात खाने । मधेसीका नाममा दशगजामा बसेर नाकाबन्दी गर्नेहरू नेपाली होइनन्’, सांसद ओलीले भन्नुभयो, ‘सीमापारित जवाइँ जस्तो गरेर मधेसी नेताहरूलाई पालेर भारतले नेपालमा आन्दोलन गर्न उस्काइ रहेको छ ।’
मधेसी नेताहरूले भने जस्तो गरेर कदापि सीमाङ्कनमा हेरफेर नहुने सांसद ओलीको भनाइ छ । ‘सीमाङ्कनको ‘स’ पनि परिवर्तन हुँदैन’, उहाँले भन्नुभयो, ‘संवैधानिक व्यवस्थाअनुसार समाधान खोज्नुपर्छ । भारतीयको दबावमा पर्नु हुँदैन ।’
















प्रतिक्रिया