मुलुकमा देखा परेको संकट अन्त्यकालागि सरकारले ठोस कदम चाल्न नसक्दा नेपालमा चरम मानवीय संकट उत्पन्न भएको छ । दैनिक उपभोग्य बस्तुहरु लगाएत ग्याँस, तेल तथा औषधिजस्ता अत्यावस्यकीय सामानहरुको अभावले राज्यमा गम्भिर अवस्था सिर्जना गरेको छ ।
महिनौं बितिसक्दा पनि समस्या ज्यूँ का त्यूँ नै रहेपछि यो देशमा सरकार नै नभएको आभाष सर्वसाधारणलाई हुन थालेको छ । नेपालस्थित बिभिन्न मुलुकका राजदुताबासबाट भारतीय पक्षबाट भएको नाकाबन्दीको बिरोधमा बिज्ञप्ती निकालि सक्दा पनि हाम्रो सरकार भने लाचारीपन प्रस्तुत गरिरहेको छ । जनतालाई देखाउनका लागि गरिएका भाषण तथा बक्तब्यबाजिले देशको समस्या समाधान नहुने कुरा सामान्य नागरिकले पनि सहजै बुझेका छन् ।
ग्याँसको अभावमा नागरिकको घरमा चुलो जल्न बन्द भएको कति दिन भयो ? आम नागरिकहरुले कसरी जीबन यापन गरिरहेका छन् ? तेलको अभावमा सवारी साधन चल्न नसकेपछि बन्द भएको विद्यालयको अवस्था के छ ? के भन्छन्, शिक्षक, अभिभावक र विध्यार्थि ? बिरामी बोक्ने एम्बुलेन्स नै बन्द हुने अवस्था आउँदासम्म राज्य के हेरेर बसेको छ ? सार्वजनिक सवारी साधनको अभावमा आम जनजीबन कति कष्टपुर्ण तवरले गुज्रिरहेको छ ? यी र यावत कुराहरु जो हरेक मान्छेको दैनिकीसंग जोडिएको छ, त्यसबारे किन मौन छ सरकार !
सायद उनिहरुलाई यी कुनै कुराको अभाव छैन । देशमा जति नै संकट भएपनि नेता, मन्त्री, सचिब लगाएत सरकारी उच्च पदस्थ कर्मचारीहरुका लागि ग्याँस, तेल तथा दैनिक उपभोग्यवस्तुहरु आपुर्ति भएकै छन् । सर्वसाधारणले बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स नपाएपनि मन्त्रीहरु झण्डाबाल वातानुकुल गाडिमा साइरन बजाउदै हुकिएकै छन् । असक्त, महिला तथा बृद्धहरु उभिने समेत ठाउँ नपाएर कठोर सास्ती भोग्दै सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्दापनि उच्चपदस्थ कर्मचारी छोरी, श्रीमतिको सयरका लागि सरकारी गाडि हुइकाएकै छन् ।
दिनभरी ज्याला मजदुरी गर्न पाएन भने बेलुकी मुखमा माड लगाउन नपाउने नेपालीको संख्या अत्याधिक रहेका कुरा सर्वविदितै हुँदा पनि हुनेखाने तथा तस्करीको टेवामा अडेको राज्यका मतियारहरु मलमा सपिङ्ग गर्न गएकैछन्, बिभिन्न बहानामा राज्यको ढुकुटीबाट भोज चलाएकैछन् ।
राष्ट्रिय चरम संकटको घडिमा सरकारी कर्मचारीकै मिलेमतोमा कालोबजारी तथा समस्या समाधानमा अवरोध सिर्जना भइरहँदा मुख दर्शक बनेर बस्ने सरकार कसरी जनताको सरकार हुन सक्छ ? जनताको दुःखमा भोजभतेरमा रमाउने राज्यप्रति जनता कुन मुखले उत्तरदायी हुनसक्छन् ?
राम्रो लाउने र मिठो खाने पर्खाइमा वर्षदिनै कुरी बस्ने जनताले दशैतिहार जस्तो राष्ट्रिय तथा महान चाडबाँडका बेला मट्टितेल नपाएर कालोबजारीमा चाउचाउ र चिउरा खाँदा पनि मन पग्लेन सरकारमा बस्नेहरुको ? उल्टै लाइनमा बसेकी गृहीणिलाई प्रहरी लगाएर भकुर्नु भकुर्यो, अब भन्नुहोस् यो सरकार कसरी नेपाली जनताको सरकार हुन सक्छ ? कसले भन्छ यी शासक÷प्रशासक देश र जनताप्रति बफादार छन् ? राज्यका अति संवेदनशिल क्षेत्रहरु नराम्ररी प्रभावित भईरहँदा कर्मचारीबाट कालोबजारी गर्न लगाई धन आर्जन गर्नतिर लाग्ने सरकार र तिनका केही भरौटे कर्मचारीलाई जनताले कहिलेसम्म यसैगरी पालि राख्ने हो त्यो भने हेर्न बाँकी नै छ ?
यति नालायक सरकार त यो देशमा सायदै दोहोरियला, एम्बुलेन्स चलाउनका लागि तेल पाइदैन तर काठमाडौंमा लाखौं गाडि गुडिरहेका छन् ? कहाँबाट आयो त तेल ? राजधानी लगाएत बिभिन्न ठाउँमा खुलेआम कालोबजारी मौलाई रहेको छ सरकार मौन छ ? तपाई आफै सोच्नुहोस् !
राजनीतिक भागबण्डाका कारण देशलाई बन्धक बनाई पद र पैशाका लागि देश डुवाउनेहरुबाट देश बनाउलान् भन्ने अपेक्षा गर्नु गधालाई दुधले धोएर गाई बनाउनु जस्तै मात्र हुने छ । देशमा संकट बढ्दै गईरहँदा पनि कछुवाको गतिमा हिँडेको सरकारी संयन्त्रको दाउरे नीतिले देशको समस्या समाधान गर्ला त ? बेलैमा चेतना भया ।













प्रतिक्रिया