काठमाडौँ, ६ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भारतको अघोषित नाकाबन्दीको नाममा कालोबजारी गर्नेलाई कारवाही गर्न आफू कटिबद्ध रहेको बताउनुभएको छ ।
पूर्व प्रशासक एवम् विभिन्न क्षेत्रका जानकारले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अनियमितता र कालोबजारी गर्ने प्रवृत्तिलाई नछाडिने र गलत धन्दा गर्नेलाई कडा कारबाही गरिने प्रतिवद्धता व्यक्त गर्नुभयोे ।
मन्त्रालयले कालोबजारी र अनियमितताका बारेमा सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिँदै गृहमन्त्री बस्नेतले अभाव, सङ्कटको नाममा जनतालाई दुःख दिने, मौका छोप्ने र कमाउ धन्दा चलाउने छुट कोही कसैलाई छैन भन्नुभयो ।
पूर्व मुख्यसचिव लीलामणि पौड्याल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्वमन्त्री दीपक ज्ञवाली, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठलगायतका ३० जना पूर्वप्रशासक एवम् नागरिक समाजका अगुवाले कालोबजारीको नियन्त्रण, नक्कली नागरिकताको छानबिन गर्नुपर्ने माग गर्नुभएको थियो ।
उहाँहरुले सङ्घीयताको सीमाङ्कनका विषयमा देखिएको विवाद समाधान गर्नुपर्ने, नेपाल भारत सीमा क्षेत्रमा देखिएको अवरोध तत्काल अन्त्य गर्नुपर्ने र चीनबाट इन्धन आयातको तत्काल पहल गर्नुपर्ने र कानुन विपरीत काम गर्नेलाई कारबाहीको दायरमा ल्याउनुपर्नेमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
पूर्व मुख्यसचिव पौड्याललगायतको प्रतिनिधिमण्डलले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनलाई पनि कालोबजारी नियन्त्रण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस















प्रतिक्रिया