१२ कार्तिक २०८३, बिहिबार

चिसो बढेपछि उत्तरी गोरखामा पढाइ प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiso-coldगोरखा, २ मङ्सिर । चिसो बढेपछि उत्तरी गोरखाका १५ विद्यालयको पढाइ प्रभावित भएको छ ।

फाट्टफुट्ट हिउँसमेत परेको र जाडोले गर्दा विद्यार्थी विद्यालय नआउँदा पढाइ प्रभावित भएको शिक्षकहरुको भनाइ छ ।

सात गाविसमा रहेका २६ सरकारी विद्यालयमध्ये बुद्ध मावि, श्रृङ्ग हिमाली प्रावि, पाङसिङ प्रावि, सिदुङ प्रावि र विकास प्राविमा मात्रै नियमित रुपमा पठनपाठन भइरहेको छ ।

तिब्बतसँग सीमाना जोडिएका सामागाउँ, ल्हो, प्रोक, चुम्चेत र छेकम्पार गाविसमा चिसो बढेसँगै बर्सेनि पठनपाठन प्रभावित हुँदै आएको छ । गत वर्षसम्म चिसोका बेला बेँसी झारेर विद्यार्थीलाई पढाइए पनि यस वर्ष बेँसीका सबै विद्यालयहरु गत वैशाखको भूकम्पले भत्केपछि झन् समस्या थपिएको छ ।

सामागाउँको गौरीशङ्कर माविका प्रधानाध्यापक वीरबहादुर लामाका अनुसार गत वर्षभन्दा अहिले चाँडै चिसो बढेको छ । गत वर्ष पुसदेखि मात्र विद्यालयहरु बन्द हुनेगर्थे । सिर्दिवासको न्याक क्षेत्रभन्दा माथिका सबै विद्यालय हिउँदमा बन्द गरिन्छ ।

चिसोबाट विद्यार्थीलाई जोगाउने उद्देश्यले बर्सेनि विद्यालय ४५ दिन बन्द गरिँदै आएको प्रअ लामाले बताउनुभयो । चिसोले बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि पुनः सञ्चालनमा आउँछन् ।

साथै यस बर्षको विनासकारी भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवनहरु मर्मत तथा पुनःनिर्माण नहुँदा पनि पठनपाठन गराउन समस्या भएको शिक्षकहरुको भनाइ छ । अझै पनि केही विद्यालयले टेण्ट, त्रिपाल टाँगेर पढाइरहेका छन् ।

दातृ निकायले विद्यालय भवन निर्माणको प्रतिबद्धता जनाएपनि पुनःनिर्माण कसरी गर्ने भन्ने यकीन नहुँदा समस्या भएको हो । भूकम्पले जिल्लाका ४९४ विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त बनाएको थियो । रासस