पोखरा, २ मङ्सिर । इन्धनको चर्को अभाव भएपछि कास्कीमा विद्यालय सञ्चालन गर्न समस्या देखिएको छ ।
इन्धन अभावले विद्यार्थी ओसारपसार गर्ने विद्यालयका बस चल्न नसकेको र छात्रावासमा विद्यार्थी राखेर खाना तथा खाजा खुवाउने अवस्था पनि नरहेको विद्यालयका सञ्चालकको गुनासो छ ।
इन्धन अभाव भएपछि दसैँ तिहारबीचको समयमा पूरा बिदा दिएका विद्यालयलाई अझै इन्धनको चर्को अभाव थपिँदै गएका कारण विद्यालय कसरी सञ्चालन गर्ने भन्ने चिन्ता बढेको वेस्ट पोइन्ट बोर्डिङ स्कुल रानीपौवाका प्राचार्य भीमप्रसाद न्यौपानेले बताउनुभयो ।
“दसैँ तिहारपछि लगत्तै कात्तिक २९ गतेदेखि विद्यालय सञ्चालन गर्ने भनेपनि इन्धनकै असहजताले गर्दा आजदेखि मात्रै विद्यालय खोल्ने योजनामा छौँ”– एनप्याब्सन कास्कीका कोषाध्यक्षसमेत रहनुभएका न्यौपानेले भन्नुभयो ।
“इन्धनको अभावका कारण विद्यार्थी ल्याउन लैजान गाह्रो छ, होस्टेलमा राख्ने विद्यार्थीलाई कसरी खाजा तथा खाना खुवाउने हो, हामी गम्भीर समस्यामा छौँ”–उहाँले भन्नुभयो । उहाँका अनुसार कास्कीमा एनप्याब्सन, प्याब्सनलगायतका संस्थासँग आवद्ध गरी लगभग १६० को सङ्ख्यामा नीजिस्तरबाट विद्यालय सञ्चालित छन् ।
न्यौपाने जस्तै न्यु एरा उच्च मावि लेखनाथका प्राचार्य वेदप्रसाद बस्ताकोटीको पनि उस्तै दुःखेसो छ । लेखनाथ नगर क्षेत्रमा कात्तिक २९ गतेदेखि नै विद्यालय सञ्चालन गरेको जानकारी गराउँदै उहाँले विद्यार्थी ल्याउन लैजानका लागि सुनौलीबाट केही मात्रामा डिजेल ल्याएपनि ग्यासको पनि अभाव भएका कारण विद्यार्थीलाई खाजा तथा खाना कसरी खुवाउने हो भन्ने चिन्ताले पिरोलेको बताउनुभयो ।
“केही समय त एक अर्का विद्यालयले आफूसँग रहेको बचत इन्धन साझेदारी गरेरै भए पनि चलायौँ”–प्याब्सन कास्कीका सदस्य एवम् प्याब्सनको लेखनाथ नगरपालिकाका संयोजकसमेत रहेका बस्ताकोटीले भन्नुभयो ।
दसैँ तिहारको बीचमा कक्षा ८, ९ र १० का लागि मात्र कक्षा चलाइए पनि इन्धन अभावका कारण अन्य कक्षा भने चलाउन नसकिएको उहाँले जानकारी गराउनुभयो । यही अवस्था अझै कायम रहने हो भने विद्यालय पूर्णरुपमा नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्नेतर्फ सम्बद्ध सबैपक्ष गम्भीर हुनुपर्ने उहाँको जोड छ । रासस















प्रतिक्रिया