काठमाडौँ, ३० कात्तिक । काठमाडौँको रानीपोखरी, बल्खु र गौरीघाटमा छठ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौँ महानगरपालिकाले छठको प्रमुख दिन मङ्गलबार अस्ताउने सूर्यलाई अघ्र्य दिन र आउने भक्तजनको सुविधाका लागि सो तयारी गरेको हो ।
बल्खु र गौरीघाटमा सम्बन्धित समुदायले छठको आयोजना गर्ने भए पनि रानीपोखरीको सम्पूर्ण जिम्मेवारी यस वर्ष महानगरपालिकाले छ । महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले रानीपोखरी क्षेत्रको सरसफाइ, टेन्ट, बत्तीलगायतका सम्पूर्ण आधारभूत पूर्वाधारको व्यवस्थापन गरिसकिएको बताउनुभयो । उहाँका अनुसार आजसम्म करिब २५० ले पर्वका लागि नाम दर्ता गराइसकेका छन् ।
गत वैशाखको भूकम्पका कारण रानीपोखरीस्थित बालगोपाल मन्दिरमा क्षति पुगेका कारण मन्दिर प्रवेशमा पूर्ण रोक लगाइएको छ । पोखरीको छेउमा श्रद्धालु भक्तजनले पूजाआजा गर्न सक्नेछन् । महानगरपालिकाले छठ माताको प्रतिमा स्थापना गरिसकेको छ भने साउन्ड सिस्टम, शौचालय, पानीलगायतको पनि व्यवस्था गरिसकेको छ । रासस















प्रतिक्रिया