रामपुर (पाल्पा), २८ कात्तिक । खेतीयोग्य जमिनलाई घडेरीको रुपमा प्लटिङ गरी किनबेच हुँदा कृषि उत्पादनमा कमि आउन थालेको छ ।
धान खेतीका लागि उर्वरशीलभूमि मानिने रामपुर, अर्गली र कसेनी क्षेत्रमा खेतीयोग्य जमिनलाई प्लटिङ गरी घडेरीका रुपमा बिक्री वितरण हुने गरेको छ ।
सिँचाइ सुविधा प्रयाप्त भएको यस क्षेत्रमा खेतीयोग्य उर्वरशीलभूमि घडेरीका रुपमा बिक्री हँुदा कृषि उत्पादनमा कमी आउन थालेको छ ।
जग्गाको मूल्य अत्यधिक बढ्दै जानथालेपछि रातारात दलालमार्फत किनबेच हुने हुँदा कतिपय उत्पादित जमिन वर्षौदेखि त्यसै खेर गएका छन् ।
जिल्ला कृषि विकास कार्यालय पाल्पाको तथ्याङ्कअनुसार धान उत्पादनको पकेट क्षेत्र मानिएको रामपुर क्षेत्रको धान खेतीयोग्य क्षेत्रफलमध्ये १.७ प्रतिशत घडेरीका लागि प्लटिङ गरिएको छ ।
वरिष्ठ कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र कोइराला भन्नुहुन्छ, “सिँचित खेतीयोग्य जमिन दिनदिनै घडेरीमा परिणत हुँदा हरेक वर्ष कृषि उत्पादनमा कमी आएको छ ।”
सरकारले भूउपयोग नीति चाँडै नल्याउने हो भने केही वर्षभित्रै जिल्लाका धेरै ठाउँमा खेतीयोग्य तथा समथर भु–भाग हराउँदै जाँदा खाद्यान्न सङ्कट हुने अवस्था आउने कृषि विज्ञहरु बताउछन् ।
शहरउन्मुख क्षेत्रमा मानव वस्तीको बढ्दो चापले खेतीयोग्य जमिन मासिदै जाँदा छिट्टै भविष्यमा खाद्यान्न न्युन भइ ठुलो सङ्कट देखा पर्दछ । रासस















प्रतिक्रिया