३० आश्विन २०८३, शुक्रबार

नाकाबन्दीविरुद्ध एक जुट हुँदै नेपालीहरू, विकल्प दिन वुद्धिजीवीहरू स्वदेश जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sorya subedi-UN-special-rapporteurलन्डन । ग्लोबल पोलिसी फोरम फर नेपालको प्रथम सम्मेलन २ डिसेम्बरका दिन काठमाडौंमा हुने भएको छ ।

विश्वका विभिन्न मुलुकमा बसोबास गरी प्राज्ञिक तथा प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरूको सक्रियतामा ७ अक्टोबर २०१५ (२० असोज २०७२) मा फोरम गठन भएको हो ।

नेपालको दीगो विकासका लागि टेवा पुराउन चाहने इच्छुक व्यक्तिहरूलाई समेटेर फोरमलाई अगाडि बढाउने योजनाअनुसार संगठनको प्रथम सम्मेलन बुधबार २ डिसेम्बर २०१५ (१६ मंसीर २०७२) का दिन काठमाडौंको होटल अन्नपूर्णमा गरिने जानकारी फोरमका अध्यक्ष प्रा डा सूर्यप्रसाद सुबेदीले दिए ।

प्रथम सम्मेलनमा “नेपालमाथि भारतको अघोषित आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय कानूनमा नेपालका विकल्पहरू” र “नेपालको उच्च शिक्षा क्षेत्रमा राजनीतिकरणले परेको शिक्षाको गुणात्मक असर” विषयमा नेपालका बौद्धिक तथा राजनीतिकर्मीहरूसँग विशेष छलफल गरिनेछ ।

नेपाललाई स्वाबलम्बी मुलुकको रुपमा विकसित गर्न आवश्यक पर्ने ज्ञान र प्रविधि जुटाउने तथा विभिन्न राष्ट्रिय महत्वका विषयहरूमा दीगो नीति निर्माणमा सहयोग पुर्‌याउनु फोरमको उद्देश्य छ ।

नेपालको समग्र विकासका लागि न्यायपूर्ण, निष्पक्ष र प्रगतिशिल नीति निर्माण तथा नेपालको सार्वभौमिकताको रक्षा तथा कानूनी राज्यको स्थापनाका लागि सहयोग गर्न प्रतिबद्ध रहेको फोरमले जनाएको छ ।

फोरमको भविष्यमा हरेक दुई वर्षमा एक पटक विश्व सम्मेलन गर्ने योजना छ ।

गरिबीको चपेटामा पिल्सिइरहेको नेपाललाई स्वाबलम्बी मुलुक बनाउनका लागि सेवा गर्ने उद्देश्य लिएका संगठनहरू स्वयं स्वाबलम्बी हुनु आवश्यक रहेको जनाउंदै फोरमले संस्था सञ्चालन तथा नेपालमा गरिने सम्मेलनहरू नेपाली जनतामाथि कुनै आर्थिकभार नथपी संगठनका सदस्य तथा सहृदयीहरूको आर्थिक सहयोगमा सम्पन्न गर्न फोरम प्रतिबद्ध रहेको जनाएको छ ।

प्रा डा सूर्यप्रसाद सुबेदी (बेलायत)को अध्यक्षतामा गठित पाँच सदस्यीय कार्यसमितिलाई विस्तार गरी हाल नौ सदस्यीय बनाइएको छ। शुरूको पाँच सदस्यीय समितिमा प्रा उपेन्द्रदेव आचार्य (संयुक्त राज्य अमेरिका), डा कुमुद धिताल (अष्ट्रेलिया), प्रा शिव गौतम (संयुक्त राज्य अमेरिका) र प्रा कटक मल्ल (स्वीडेन) थिए भने डा होममुर्ति पन्त (अष्ट्रेलिया), डा मल्लिका शाक्य (भारत), प्रा पदम सिंखडा (बेलायत) र प्रा विशाल सिटौला (नर्वे) हालै सो समितिमा थपिएका छन् ।