काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपरान्ह भारत प्रस्थान गरेका छन् । संविधान जारी हुनासाथ भारतद्धारा लगाइएको नाकाबन्दी अझ कडा बनेका बेला पूर्वराजा शाहको यो भ्रमणलाई रहस्यमय मानिएको छ ।
समाचार स्रोतका अनुसार भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको निमन्त्रणमा उनी दिल्ली प्रस्थान गरेका हुन् । संविधान जारी हुनु अघि पनि पूर्व राजा शाह बैंकक प्रस्थान गी भारतीय गृहमन्त्री राजनाथ सिंह र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो तहका नेतालाई भेट गरेको बताइएको थियो ।
उक्त भेटवार्तापछि पूर्वराजा शाह दिल्ली फर्केर केही दिन बसी काठमाडौं आएका थिए । स्रोतका अनुसार राजसंस्था पुनस्थापना तत्काल गर्न नसके पनि संविधान जारी हुने भने ढिलाई गरिदिने वचन त्यतिबेला भारतलेले पूर्वराजा शाहलाई दिएको बताइन्थ्यो । यो सूचना चिनियाँ राजदुतमार्फत प्राप्त गरेपछि मुलुकका प्रमुख दलहरु हतारहतार १६ बुँदे सम्झौता गर्दै संविधान निर्माणमा जुटेका थिए ।
पूर्व राजा शाहलाई दिइएको वचनवद्धता अनुरुप संविधान जारी गर्ने अभियानमा ढिलाई गराउन भारतले भरमग्दुर प्रयत्न गरेको थियो । यसका लागि भारतले विभिन्न चरणमा आफ्ना दुतहरु पठाएर संविधान निर्माणको काम स्थगित गर्न दबाब दिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अन्तिम दुतका रुपमा नेपाल आएका विदेश मन्त्रालयका सचिव एस जयशंकरले सकेसम्म बिहारको चुनाव सम्पन्न नभएसम्मका लागि र नसके कम्तिमा १५ दिनका लागि संविधान निर्माण कार्य स्थगित गर्न दलहरुलाई सुझावमात्रै होइन दबाबसमेत दिएका थिए । तर, राजतन्त्र स्थापित गर्ने दिल्लीको डिजाइन थाहा पाएका दलहरुले जयशंकरको कुरा नसुनी असोज ३ गते नै संविधान जारी गरेका थिए । तरुण साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया