
काठमाडौं, २२ कात्तिक । चीनबाट मगाएको ३५ हजार थान ‘ब्लड ब्याग’ भारतीय सीमानाका रक्सौलमा अड्किएपछि देशभर रक्त संकलन कार्य प्रभावित भएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक)सँग भएका केही ‘ब्लड ब्याग’को आयु तीन साताभन्दा कम छ, जब कि संकलित रगतको आयु ३५ दिनसम्म हुन्छ ।
ब्लड बैंकका शाखा अधिकृत ईश्वरी पन्तले रगतको आयु जति ‘ब्लड ब्याग’को आयु नभएपछि संकलन कार्य केही प्रभावित भएको बताए ।
उनले तत्काल प्रयोग गर्नेगरी कम आयु भएका ‘ब्लड ब्याग’मा छिटोछिटो ‘रिप्लेसमेन्ट’ गरी काम चलाएको जानकारी दिए ।
‘अहिले धेरै मौज्दात रहने गरी रगत संकलन गरेका छैनौँ । किन कि ‘ब्लड ब्याग’को आयु नै कम छ । त्यसैले संकलन गरेर धेरै दिन राख्ने अवस्था छैन । तत्काल प्रयोग हुनेहरूका लागि मात्रै दिने गरेका छौँ,’ उनले भने ।
ब्लड बैंकमा भएको रगत अभावलाई सहयोग गर्न तथा आफूकहाँ भएका बिरामीलाई चाहिने रगत परिपूर्ति गर्न भन्दै बिहीबार वीर अस्पतालले सञ्चालन गर्न लागेको बृहत् रक्तदान कार्यक्रम पनि ‘ब्लड ब्याग’ नै नपाएपछि रोकिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
‘ब्लड बैंकमा म्याद गुज्रन लागेका ब्याग रहेछ । बाहिर बजारमा खोज्दा कहीँ पाइएन । अन्ततः रगत संकलन कार्यक्रम नै स्थगित गर्नुपर्यो,’ अस्पतालका निर्देशक डा स्वयंप्रकाश पण्डितले भने ।
उनले ब्लड बैंकमा पनि म्याद सकिन १० दिनभन्दा बढी नभएका ‘ब्लड ब्याग’हरू भए पनि आफूले नल्याएको बताए ।















प्रतिक्रिया