३० आश्विन २०८३, शुक्रबार

इन्धनमा नेपाल अब भारतको मात्रै भर नपर्ने, चीनसँग सम्झौता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गणेशमान पुन
गणेशमान पुन

काठमाडौं, १८ कात्तिक । आपूर्तिमन्त्री गणेशमान पुनले मित्रराष्ट्र चीनसँग व्यापारिक रुपमा इन्धनको आयात गर्ने कार्य औपचारिक रुपमा सुरु भएको जानकारी दिनुभएको छ ।

संसदीय मामिला पत्रकार समाजको टोलीसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज (बुधबार) मन्त्री पुनले मंगलबार चिनियाँ पक्षलाई पत्र पठाइ इन्धन आपूर्तिमा नेपालले व्यावसायिक रुपमा काम गर्न चाहेको जानकारी गराएको बताउनुभयो ।

‘हिजो (मंगलबार)देखि हामीले मित्रराष्ट्र चीनसँग पेट्रोलियम पदार्थ (इन्धन) आपूर्तिका लागि औपचारिक रुपमा पहल थालेका छौँ’, उहाँले भन्नुभयो, ‘छिट्टै चीन सरकारको सम्बन्धित निकायसँग व्यापारिक सम्झौता गर्ने छौँ ।’

चीनसहित अन्य मुलुकहरूसँग पनि इन्धन आपूर्तिका लागि पहल भइरहेको मन्त्री पुनको भनाइ छ । ‘तत्काल भारतसँग भएको परिमाणमा जति आपूर्ति गर्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘तर पेट्रोलिय पदार्थको आपूर्तिका लागि दीघकालीन अवस्थालाई ध्यानमा राखेर काम अगाडि बढाइ रहेका छौँ ।’

उहाँले नेपाल अब भारतको मात्रै इन्धनमा भर नपर्ने उल्लेख गर्नुभयो । सरकारले मट्टीतेल अलि धेरै ल्याएर वितरणको तयारी गरिरहेको बताउनु भएका आपूर्तिमन्त्री पुनले भन्नुभयो, ‘इन्धनको आपूर्तिलाई कम गर्न सरकारले मट्टीतेल सबैको घरमा पुग्ने वातावरण बनाउँदैछ । मन्त्रिपरिषदले पनि त्यसलाई अलि धेरै ध्यान दिएको छ ।’

बिहान र बेलुकाको समयमा विद्युत् कटौती नगर्न उर्जा मन्त्रालयलाई आग्रह गरिएको पनि उहाँले बताउनुभयो । ‘खाना पकाउन समस्या नहोस् भनेर उर्जा र अन्य समबन्धित मन्त्रालयसँग समन्वय तथा आग्रहसहित काम गरिरहेका छौँ’, आपूर्ति मन्त्री पुनले भन्नुभयो, ‘वन मन्त्रालयलाई दाउरा, उर्जालाई विद्युत् तथा बैकल्पीक उर्जाका लागि पनि भनिरहेका छौँ ।’

अत्यावसेक सेवा अस्पताल, विद्यालय, एम्बुलेन्स, चिकित्सक, पत्रकार आदिलाई पनि पेट्रोलिय पदार्थ उपलब्ध गराइ रहेको मन्त्री पुनले बताउनुभयो ।

सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म सर्वसाधारणलाई इन्धन आपूर्ति गराइरहेको बताउनुभएका आपूर्तिमन्त्री पुनले भन्नुभयो, ‘सुरुवाती दिनमा वितरणमा केही समस्या र भद्रगोल भयो । तर अब त्यसलाई अलि व्यवस्थित बनाउँदै आएका छौँ । सबै जनतालाई समानुपातिक रुपमा इन्धन आपूर्ति हुन्छ ।’

सरकारले निजी क्षेत्रलाई पनि इन्धन आपूर्ति गरेर बिक्री वितरण गर्न अनुमति दिइसकेको उहाँले बताउनुभयो ।

निजी क्षेत्रले ल्याउने इन्धनको मूल्यमा केही तलमाथि हुने उल्लेख गर्नुभएका आपूर्तिमन्त्री पुनले भन्नुभयो, ‘कालोबजारी र बढी मूल्य लिने गरेको गुनासो आइरहेको छ । सरकारले आफ्ना संयन्त्रहरू प्रयोग गरेर कारबाही सुरु गरिसकेको छ ।’