३० आश्विन २०८३, शुक्रबार

चीनबाट तेल ल्याउने प्रक्रियामा आलटाल गर्दै आयल निगम, अधिकांश कर्मचारी भारतकै पक्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_oil_corporationकाठमाडौं, १७ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच चीनबाट तेल नेपाल ल्याउन ढिला हुने भएको छ ।

दुई देशबीच इन्धन आपूर्ति सम्झौता भएपनि चीनबाट तेल नेपाल ल्याउने विषयमा दुई देशका आयल निगमबीच व्यापारिक सम्झौता समयमै हुन नसक्दा ढिलाई हुने भएको हो ।

नेपाल आयल निगमले विभिन्न बहाना बनाएर सम्झौता प्रक्रिया बढाउन आलटाल गरिरहेको छ । सम्झौताका लागि चीनको आयल निगम (पेट्रोचाइना)का प्रतिनिधीलाई बोलाएर व्यापारिक सम्झौता प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि आलटाल गर्दा ढिलाई भएको हो ।

आयल निगमका अधिकारी अनुदानको तेल नेपाल भित्रिइसकेपछि मात्रै पेट्रो चाइनालाई बोलाउने पक्षमा छन् । त्यसो गर्दा अनुदानको सबै तेल नेपाल आइपुग्न कम्तिमा पनि १५ दिन लाग्छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनुदानको सबै तेल नेपाल आइसकेपछि पेट्रोचाइनालाई बोलाउने प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो- ‘हामी हतारिएर मात्रै हुँदैन, उनीहरु पनि तयारी अवस्थामा हुनुर्पयो ।’

आगल निगम स्रोतका अनुसार अहिले नै दुई देशका आयल निगमका बीच व्यापारिक सम्झौता अगाडि बढे अनुदानको तेलसँगै खरिद गरेको तेल पनि नेपाल आइपुग्छ । जसले अहिलेको इन्धन संकटलाई ५० प्रतिशतले कम गर्न सकिन्छ । तर, निगमका अधिकांश कर्मचारी भारतकै पक्षमा देखिएका छन् । उनीहरु चीनसँगको सम्झौता नहोस् भन्ने भारतीय मान्यताको पक्षमा रहेको स्रोतको दाबी छ । उनीहरु सम्बन्ध सुधारेर भारतबाटै तेल ल्याउनुपर्ने पक्षमा छन् । यसरी आयल निगम चीनबाट तेल ल्याउन पछि हटेको देखिन्छ । निगमको ढिलाइले जनताले थप दुःख पाउने अवस्था देखिन्छ ।

यस्तै, चीनका लागि नेपाली राजदूत महेश मास्केले तेल ल्याउने विषयमा चीनसित सैद्दान्तिक सहमति भइसकेकाले अब आयल निगम र पेट्रोचाइना बसेर प्राविधिक कुराहरु टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘अनुदानको तेल आइपुग्ने समयभित्रै दुई कम्पनीबीच व्यापारिक सम्झौता गरिसक्नुपर्छ । आयल निगमले पत्र पठाउनासाथ पेट्रो चाइनाका प्रतिनिधी आउँछन् र सम्झौता हुन्छ ।’ अहिलेको समस्या समाधान गर्न जतिसक्दो चाँडो चीनसँग सम्झौता प्रक्रिया अगाडि बढाउनुपर्ने राजदूत मास्केको भनाई छ ।

इन्धन आपूर्ति सम्झौतासँगै चीनले नेपाललाई १३ लाख लिटर तेल अनुदानमा उपलब्ध गराएको थियो । जून काठमाडौं आउने क्रममा छ ।