सार्वजनिक स्थानहरु पवित्र मानिन्छन्, यस्ता स्थानहरु समाजको मुटु नै हुन् भन्दा पनि अत्युक्ति हुँदैन । के गाउँ के शहर, मठ मन्दिर, कुवा, पधेरो, चौतारी, प्रतिक्षालय, सडक, बाटोघाटो लगाएत शिक्षालय, कार्यालय, सार्वजनिक सवारीसाधन जस्ता दैनिक जीबनमा कुनै न कुनै रुपमा जोडिएर आउने क्षेत्रबाट जो कोही पनि अलग रहन सक्दैन । यीनै स्थानहरुबाट समाजका महत्वपूर्ण गतिबिधिहरु संचालन भईरहेका हुन्छन् त्यसकारण यी क्षेत्रहरुलाई पवित्र मानिएको हो ।
समाज विकासको क्रममा केही सामाजिक संरचना भनौं या मानवीय गतिबिधिहरुमा पनि परिवर्तन आएको देखिन्छ जुन स्वभाविक पनि हो तर केही त्यस्ता परिवर्तन पनि आए, जसले हाम्रो समाजलाई भयानक नकरात्मक असर पु¥याइ रहेकाछन् । प्राकृतिक रुपमा हुने परिवर्तनलाई सहर्ष स्वीकार्न सकिन्छ र कतिपय अवस्थामा त्यो वाध्यात्मककारी पनि हुन सक्छ मानिसका लागि ।
खुल्ला सडकपेटीमा आफ्नै लाईनबाट हिँडिरहेकी एउटी महिलालाई अस्वाभाविक ढंगले ठोक्ने हिम्मत गर्यो र ठोकिसके पछिपनि परैसम्म फर्कीफर्की जिस्क्याउँदै हिड्ने चेष्टा गर्छ भने शहरका अध्यारा, साधुरा गल्लि र भीडभाडमा के–के गर्थ्यो होला ?
किनकी प्रकृतिको शक्तिसंग मानिसको केही चल्दैन जस्तोः बाढी, पहिरो, भूकम्प आदि । तर पनि समयमै चेत खुल्यो भने यसबाट पनि बच्न सकिन्छ तर मानवीय क्रियाकलापबाट आएको परिवर्तन अर्थात मानिसको बानीव्यवहारबाट उत्पन्न केही त्यस्ता गतिबिधिहरु, जसलाई हामी सजिलै नियन्त्रण गर्न सक्छौं । जस्तो हत्या, हिँसा, बलात्कार, चोरी, डकैती आदि । यी कुराहरु कुनै पनि समाजका लागि स्वीकार्य अर्थात पाच्य हुँदैनन् । यसले समाजलाई कलंकित बनाउँदै छ । मानवीय मुल्य र मान्यतामा समेत दाग लगाईरहेको छ तर पनि हामी यसको नियन्त्रणका लागि उचित कदम उठाउन ढिलाई गरिरहेका छौं ।
सन्दर्भ महिलामाथि हुने गरेका अवाच्छनिय क्रियाकलाप तथा अपमानजनक व्यवहारको हो । परापूर्वकाल देखि नै पवित्र मानिदै आएका तिनै स्थानहरुमा सर्वत्र पुजनिय नारीमाथि अभद्र व्यवहार भईरहँदा कता कता नसुहाएको हो कि जस्तो लागिरहेको छ । खासगरी शहरबजार, जहाँ ठुल ठूला मानिसहरुको बसोबास छ । देशव्यापी कहलिएका साधुसन्त, महन्त, समाजसेवी, बुद्धिजिवी, पत्रकार, अधिकारकर्मी लगाएत मुलुक हाक्ने राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका प्रमुख मान्छेहरु, देशी बिदेशी सम्मानित व्यक्तिहरुको आवत जावत भईरहने ठाउँ हो । यीनकै रखवालाका लागि तैनाथिमा रहेका सुरक्षा संरचनाको केन्द्रविन्दु पनि यही हो तर बिडम्बना, यस्तो संवेदनशिल ठाउँमा नै खुलेआम महिलाको इज्जतमाथि धावा बोलिँदै आउनु लज्जास्पद कुरा हो ।
गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भयो केही दिन अगाडि नयाँ वानेश्वर चोकमा । राजधानी काठमाडौंको मुटुमा सम्साझै यस्तो घटना हुँदा मैले टाउँको निहुराएर देखे नदेखेझै गरेर हिड्नुपर्यो । अरुका लागि सामान्य होला यो तर मेरा लागि केही असमान्य लाग्यो किनकी यो एउटा मात्र त्यस्तो घटना होइन जुन असाधारण परिस्थितिबाट गुज्रिएको हो अर्थात संयोगबस भएको हो । यो हरेक दिन हरेक मिनेट मिनेटमा त्यही र त्यस्तै धेरै ठाउँमा दोहोरिरहने अवाच्छनिय गतिबिधि हो त्यसकारण मैले यसलाई सहज रुपमा स्विकार्न सक्दिन ।
एकजना संचारकर्मी महिला बाटोमा हिड्दै हुनुहुन्थ्यो । उहाँ आफ्नैतर्फबाट एकसुरमा हिडिरहेका समयमा दुई जना अल्लारे ठिटाहरुले नराम्ररी धक्का दिए, जसबाट उहाँ झस्किनु त स्वभाविकै हो, धक्का दिईसकेपछि पनि संविधानसभाको भित्ताले नछेकुन्जेल फर्कि फर्कि जिस्क्याउदै हिडिरहेको अवस्थाले मलाई समेत झस्कायो । भाले कुखुराको पुच्छरजस्तै कपाल ठड्याएको अल्लारेले ति महिलालाई धक्का दिएको कार्य मात्रै अश्वाभाविक थिएन, उ अगाडिबाट आउदै गर्दा धक्का दिएर गईसक्दा सम्मको उसको हिँडाई अझ बढी खतरनाक थियो । त्याहाँनेर ठोक्किनु पर्ने या ठोक्किने सक्ने एक रतिपनि ठाउँ थिएन । बाटो खुल्ला थियो र करीब डेढ मिटरको फरकमा क्रस हुनुपथ्र्यो घटनास्थलको प्रकृति हेर्दा तर ठोक्नकै लागि उ ति महिलाछेउ आयो र अगाडिबाटै ठोकेर छाति फुलाउदै अगाडि बढ्यो ।
उसले कति महिलाईलाई धक्का दिँदै आएको थियो र अब उ कहाँ पुग्ने हो त्याहाँसम्म पुग्दा उसले कति महिलालाई यसरी नै धक्का दिने हो भन्नेकुरा त्यो भन्दा बढी डरलाग्दो थियो । संविधानसभा भवनको अगाडिपट्टि जहाँ माथि पनि प्रहरी तैनाथ हुन्छन्, वरपर पनि घुमुवाहरु डुलिरहेका हुन्छन् र साँझै नपरी सकेकोले सयौं मानिसहरुको आवत जावत छ । त्यही ठाउँमा त उसले खुल्ला सडकपेटीमा आफ्नै लाईनबाट हिँडिरहेकी एउटी महिलालाई अस्वाभाविक ढंगले ठोक्ने हिम्मत गर्यो र ठोकिसके पछिपनि परैसम्म फर्किफर्कि जिस्क्याउँदै हिड्ने चेष्टा गर्छ भने शहरका अध्यारा, साधुरा र भिडभाडमा के के गथ्र्यो होला उसले यो कुराले केही दिनसम्म निकै पिरोल्यो मलाई ।
बाटोमा हिडिरहेका महिलालाई जबरजस्ती ठोक्ने, भिडभाडको बहानामा सार्वजनिक यातायातमा संवेदनशिल अंगहरुमा छुने, टोल, गल्ली र प्रतिक्षालयमा घुरेर हेरीरहने अनि जो देख्यो त्यसैलाई जिस्क्याउदै हिड्ने जस्ता कार्य कहाँको संस्कार हो यो ?
एक पटक कल्पना गर्नुहोस् त ! ति महिला तपाइकी श्रीमति, दिदि, बहिनी, छोरी, नातिनी या अन्य कुनै नाता पर्थिन् भने……. ।
यदी कोही पनि पर्दिनन् भने समाजमा त्यस्तो अपराध गर्ने छुट छ त ? सभ्य समाजका सभ्य मानिसका लागि त कल्पना भन्दा बाहिर हुन्छन् । त के हामी आधुनिक, सभ्य र इज्जतदार कहलिन रुचाउने मानिसका क्रियाकलापहरु यस्तै हुन्छन् ? यस्तै यस्तै कार्यले हाम्रो इज्जत बढाउँछ त !
बाटोमा हिडिरहेका महिलालाई जबर्जस्ति ठोक्ने, भिडभाडको बहानामा सार्वजनिक यातायातमा संवेदनशिल अंगहरुमा छुने, टोल, गल्ली र प्रतिक्षालयमा घुरेर हेरीरहने अनि जो देख्यो त्यसैलाई जिस्क्याउदै हिड्ने जस्ता कार्य कहाँको संस्कार हो यो ? नेपाली संस्कारमा त नारीलाई देवी सरह पुग्ने चलन छ त, फेरी हामी दशै र तिहार मनाउँदैछौं, यो तिनै दुर्गा भवानीको पुजा गरी मनाइने पर्व होइन र ? कि ढोँग मात्रै हो ? सोच्नु पर्ने कुरा ।
संक्रमणकालको हवाला दिँदै लामो समयसम्म महिलामाथि हुनेगरेका हिँसाका घटनाहरु यतिबेला नियन्त्रण भन्दा पनि बढोत्तरीको गतिमा देखिन्छ । भलै केही ठूला अपराध रोकिएको तथा मिडियामा नआएको हुनसक्छ तर दैनिक बाहिर हिडिरहनु पर्ने कामकाजी महिलाहरु दिनप्रतिदिन असुरक्षित महसुस गर्दै गएका छन् । आजसम्म केही त्यस्ता घटनाहरु घटे देशभित्र, जसले सिँगो नेपाली समाजलाई बदनामित बनायो । हाम्रो सभ्यता, संस्कृति, पहिचान र पवित्रता बिटोलेको छ । नाबालिको बलात्कार पछि हत्या, कलिला किशोरीको सामुहिक बलात्कार लगाएत सदियौं देखि जकडिएर बसेका बिभिन्न खाले घरेलु हिँसाबाट महिलाहरु सबैभन्दा बढी प्रभावित रहे ।
घर छिमेकमा आफन्तको डर, स्कुल कार्यालयमा अभिभावक तथा सहकर्मीको भय तथा बाहिर निस्कदा परिचित/अपरिचितको दुव्र्यवहार, कहाँ कसरी सुरक्षित हुने उनिहरु ? के उनिहरुलाई स्वतन्त्र र सम्मानित जीबन बाँच्ने अधिकार छैन ?
कोही उच्च ओहोदामा बस्नेहरुले घरमा काम गर्ने नाबालिका तथा महिलालाई शोषण गर्ने र पदिय धाक र रवाफमा भित्रभित्रै राफसाप गर्ने, कसैले अनुशासनको डर देखाई शक्तिको आडमा सहकर्मीमाथिको शोषणलाई नै संस्थागत जस्तो गर्ने, कोही यौनपिपासुहरुले ललाइ फकाई नाबालिकालाई सिकार बनाउने त कोही बलजफ्ति बलात्कार गर्ने, हुँदा हुँदा दिन दहाडै खुल्ला सडक तथा सार्वजनिक स्थानमै अपहेलित र लज्जित हुनु पर्ने ? के महिला भएर जन्मिनु नै अभिषाप हो त ?
मोफसल देखि मुलधारसम्मको सक्रिय पत्रकारिताको यो १५ वर्षको अवधिमा यी कानले कैयुँ त्यस्ता घटना सुन्नु परेको छ र आफ्नै आँखाले कैयुँ त्यस्ता दृश्यहरु देख्नु परेको छ जुन अत्यन्तै घिनलाग्दा मात्रै छैनन् सिँगो मानव समाजलाई नै लज्जित र कलंकित बनाउने खालका घटनाहरु छन् । नामै लिएर भन्दा कसैलाई अफ्ठेरो पर्न सक्छ, कसैको इज्जतको सवाल उठ्छ, कल्पनै सम्मपनि नगरेका कैयौं त्यस्ता ओहोदाधारीका भित्रि कर्तुतहरु देखेको छु मैले । देखिने अन्य पक्षहरुमा अत्यन्तै इमान्दार र सबल देखिए पनि महिलाका मामिलामा भने निकृष्ठ अत्याचारी । त्यसैले पद र प्रतिष्ठाधारीहरुलाई परैबाट नमस्कार गर्ने परम्परा तोडेको छु आजभोली मैले । नमस्कार भनेको ह्ृदयबाट नै स्वस्फुर्त रुपमा आउने सम्मान हो । आदरभाव हो । आजकाल यस्ता व्यक्तिहरुको आनिबानि धेरैलाई थाहा हुन्छ तर पनि पद र पैशा छउन्जेल तिनको बिरोध त के झुकेर नमस्कार गरेन भने त्यसले बिगार्ने पो होकि भन्ने डरले पनि साष्टाङ्ग गर्नेहरु पनि उत्तिकै छन् । यसले पनि सामाजिक अपराध बढाउन मद्यत मलजल पु¥याउदै आएको छ ।
कानुनी राज्यमा जो कोहीले जो कसैमाथि गरिने कुनै पनि प्रकारका खराव आचरण तथा व्यवहार दण्डनिय मानिन्छ । त्यस्तो काम गर्ने गराउनेलाई दण्डित गरिन्छ । कानुनी उपचारमा पिडीतले न्याय पाउने सम्भावना सतप्रतिशत जस्तै हुन्छ तर यहाँ पिडीत थप अन्यायको भागिदार बन्दै पीडकले नै उन्मुक्ति पाएका कैयन् घटनाहरु छन् जसले समाजमा यस्ता खाले अपराध बढेका हुन् भनेर ठोकुवा गर्न हिचकिचाउनु पर्दैन । अन्यायमा परेकाले न्याय पाउन नसक्दा मानसिक रोगी बन्ने त छँदैछ, परिवार, आफन्त, छरछिमेक, समाज र उन्मुक्त पीडकबाट हुनसक्ने सम्भावित दुर्घटनाको सिकार बन्नुपर्ने भयले कैयुँ घटना बाहिर आउन सकेका छैनन् ।
हिँसा तथा भेदभाव अन्त्यको ठेक्का पट्ठा गर्नेहरुले पनि अलिकति सोच्नु पर्छ कि जस्तो लाग्दैछ । पाँचतारे होटेलमा कार्यपत्र प्रस्तुत गरेर समस्याको बिस्कुन ओछ्याउदै कसरी बढी डलर भित्र्याउने र कुम्ल्याउने भन्नेतिर मात्रै लाग्ने होइन, प्रत्येक नागरिकलाई नैतिकताको पाठ सिकाउने वातावरणतिर लाग्नु पर्छ ताकि हरेक अभिभावकहरुले आ आफ्ना छोराछोरीलाई अनुशासनमा राख्न बाध्य होउन् ।
राज्यको कानुन पद, पैशा र शक्तिको गुलाम हैन, निश्पक्षताको कडि बनोस् । शैक्षिक पाठ्यक्रमहरुमा पनि मानवीयता, नैतिकता, अनुशासन लगाएत केही व्यवहारिक ज्ञानका पाठहरु समावेश गरि त्यहि अनुशारको शिक्षाशिक्षाको विकासले गति लेओस् अनि पो बल्ल सुधार हुन्छ त !
नयाँ नेपाल निर्माणको सपनाको लहर छ । देशमा नयाँ संविधानको चर्चा छ । नयाँ सरकारको नयाँ रौनक छ । राष्ट्रको सर्वोच्च पदमा महिलाहरु बिराजमान छन् । जबसम्म महिलाहरु स–सम्मान निर्धक्कसंग हिड्न सक्ने अवस्था सिर्जना हुँदैन तवसम्म महिलामुक्ति, महिला स्वतन्त्रता लगाएत महिलामैत्री जस्ता नाराहरु सबै सिमलको फुल जस्तै हुनेछन्, सामान्य हावा चल्दा समेत उडेर बारीमा थेचारिने । न टिपेर सिरमा सजाउनु र भकारीमा थन्क्याएर बिउ राख्नु भन्नु । बेलैमा सोच्ने कि !
(उपाध्याय स्वतन्त्र पत्रकार हुन् ।)













प्रतिक्रिया