मेलम्ची, १५ कात्तिक । तिहार नजिकिँदै गर्दा विभिन्न सजावट, र अत्यावश्यक सामग्री किन्ने बेलामा यतिखेर सिन्धुपाल्चोक जिल्लाको सबै ठाउँमा खाद्यान्नको चरम अभाव हुन थालेको छ ।
पेट्रोलियम पदार्थको अभावका कारण यातायातका साधन नचलेपछि विभिन्न सामग्रीको अभाव हुन थालेको हो ।
यातायात नचल्दा बजारमा खाद्यान्नलगायतका सामग्रीको अभाव हुन थालेको व्यापारी सुवास श्रेष्ठले बताउनुभयो । यातायात नचल्दा खाद्यान्नलगायतका सामग्री ल्याउन नसकिएको उहाँको भनाइ छ ।
जिल्लाको हिमाली क्षेत्रका भोताङ, गुन्सा, सेलाङलगायतका गाविससम्म भएका केही सामान लैजानसमेत यातायातको असुविधा भएकाले स्थानीयवासीले धेरै कष्ट भोग्नुपरेको थाङ्पालकोट गाविसका सहायक सचिव कुमार बस्नेतले बताउनुभयो ।
जिल्लाको विभिन्न ठाउँमा चल्ने हेलम्बु यातायात, आमाह्येल्मो यातायात र अरनिको यातायातका समितिले पेट्रोलियम पदार्थको अभावका कारण बस सेवा कटौती गरी केही मात्रामा सञ्चालन गरेका छन् ।
यसरी कम बस चल्दा यात्रुले झुन्डिएर छतको जोखिमपूर्ण यात्रा गर्नुपरेकाले सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा यात्रुले ठूलो गुनासो गरेका छन् ।
कम मात्रामा बस चलेपछि काउन्टरबाट टिकट बिक्रीको काम पनि गरिएको छैन । कम गाडीहरु भएकाले कुन आउने जाने ठेगान नभएकाले सबै तालिका नै लथालिङ्ग भएको हेलम्बु यातायात सेवा समितिका ज्यानबहादुर तामाङले बताउनुभयो ।
त्यसैगरी उत्पादित तरकारी बजारसम्म पुर्याउन कठिन भएको जिल्लाको मेलम्ची नगरपालिका– १२ का कृषक टोमशङ्खर दुलाल बताउनुहुन्छ ।
भूकम्प, बाढीपहिरोलगायतका विभिन्न समस्या झेल्दै आएका सिन्धुवासीमा आफूले उत्पादन गरेको तरकारीसमेत बजारसम्म पुर्याउन कठिन भएको स्थानीय कृषकको गुनासो रहेको छ । रासस















प्रतिक्रिया