काठमाडौं । चीन सरकारले एक शिशु नीतिको दशकौं पुरानो नीति अन्त्य गरिएको घोषणा गरेको छ । आधिकारिक सिन्हवा समाचारसंस्थाले अब सबै दम्पतिहरुले दुईवटा बच्चा जन्माउन पाउने जनायो ।
उक्त नीतिले लैङ्गीक असन्तुलन ल्याउनुकासाथै श्रमशक्ति पनि घटाउँदै लगेको भनी त्यसको आलोचना गरिएको थियो । उक्त नीतिप्रति अधिकांश चिनियाँहरु बेखुसी पनि थिए ।
देशको पन्चवर्षीय योजना बनाउन बसेको सत्तारुढ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुको बैठकपछि जारी एक विज्ञप्तिमा सो उल्लेख गरिएको थियो ।
छत्तीस वर्ष अघि जनसंख्या नियन्त्रण गर्न भन्दै चिनियाँ कम्युनिष्ट पार्टीले त्यस्तो कडा नीति ल्याएको थियो । एक शिशु नीतिले गर्दा चीनमा झण्डै चालिस करोड जनसंख्या घटेको अनुमान गरिएको छ ।
सरकारी नीति अवज्ञा गर्नेहरुलाई गर्भपतन गर्न वाध्य पारिन्थ्यो भने श्रम शिविरहरुमा पनि पठाइन्थ्यो । तर त्यस्तो नीतिले गर्दा चीनमा छोरीको तुलनामा छोरा पाउन दम्पतीहरु बढी इच्छुक देखिए ।
अहिले झण्डै अढाइ करोड चिनियाँ पुरुषहरुले बिहे गर्न श्रीमती पाउननसक्ने स्थिति रहेको बताइन्छ ।
कति बच्चाबच्ची जन्माउने भन्ने हरेक दम्पतीको स्वेच्छिक अधिकारमा समेत राज्यले हस्तक्षेप गरेको भनी आलोचना भैरहँदा चीनमा श्रमशक्तिको कमी र वयस्कहरुको बढ्दो संख्याप्रति पनि चिन्ता व्यक्त गरिएका थिए ।
सन् २०५० सम्ममा चीनको एक चौथाइभन्दा बढी जनसंख्या ६५ वर्षभन्दा माथिको हुने अनुमान गरिएको छ । त्यसो त दुई वर्ष अघि देखि नै चीन सरकारले उसको एक शिशु नीतिलाई खुकुलो बनाउँदै लगेको थियो ।
बेइजिङस्थित संवाददाता जन सडवर्थ भन्छन्, अहिले आएर चिनियाँ समाजमा एउटामात्र बच्चा जन्माउने प्रचलनले सामाजिक मान्यता पाइसकेको देखिन्छ । उनी भन्छन्, त्यसैले सरकारले नियम परिवर्तन गर्दैमा तत्काल शिशु जन्म दरमा ठूलै परिवर्तन हुनेमा भने आशंका कायमै छ । – बीबीसीबाट















प्रतिक्रिया