बैतडी, ११ कात्तिक । बैतडीमा मुक्त हलिया पुनःस्थापना कार्यक्रम अन्तर्गत यो वर्ष ५० जनाका लागि जग्गा खरीद, ४० जनाको घरमर्मत र २५ जनाको घर निर्माण आदि कार्य हुने भएको छ ।
मुक्त हलियामध्ये कमजोर प्रकृतिकालाई छनौट गर्ने कार्य जारी रहेको राष्ट्रिय हलिया मुक्ति समाज महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजुराम भुलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जग्गा खरिदका लागि ५० जनालाई दुई लाखका दरले उपलब्ध गराइनेछ भने घरमर्मतका लागि ४० जनालाई रु एक लाख २५ हजारका दरले सहयोग मिल्नेछ” ।
हलिया मुक्ति समाजका कार्यक्रम संयोजक रमेश कोलीका अनुसार २५ जनालाई घरनिर्माणका लागि रु तीन लाख २५ हजार प्राप्त हुने भएको छ । संयोजक कोलीले भन्नुभयो, “पुनःस्थापना प्याकेज अन्तर्गत मुक्त हलिया पुनस्र्थापना समितिले ती व्यक्तिको छनौट गर्नेछ” ।
गत बर्ष मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत जिल्लामा २० जनाले घरमर्मत, १५ जनाले जग्गा खरीद तथा नौ जनाले घर निर्माणका लागि सहयोग पाएको समेत उहाँले बताउनुभयो ।
बैतडीमा २०२२ जना प्रमाणिकरण भएका मुक्त हलिया छन् भने एक हजार ४४८ जनासँग परिचयपत्र रहेको छ । अझै पनि धेरै हलिया तथ्याङ्कमा छुटेको र छुट हलियालाई तथ्याङ्कमा राख्न गाह्रो भइरहेको महासङ्घले जनाएको छ । रासस















प्रतिक्रिया