काठमाडौं, ४ कात्तिक । उन्नाईस वर्षमुनिको (यू-१९) विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आयरल्याण्डलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
बुधबार मलेसियाको किन्नरा ओभल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको नेपालले समूहमा शतप्रतिशत नतिजा निकाल्दै फाइनल प्रवेश गरेको हो ।
आयरल्यान्डले दिएको १८५ रनको चुनौती नेपालले ४३ बल बाँकी छँदै २ विकेटको क्षतीमा पुरा ग¥यो । नेपालको जितमा सन्दीप सुनारले ८५ रनको उत्कृष्ट पारी खेले । सुनिल धमला ७५ रन बनाएर पवेलियन फर्के । कप्तान राजु रिजाल १६ र योगेन्द्रसिंह कार्की ४ रनमा अविजित रहे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । नेपालका प्रेम तामाङले सर्वाधिक ४ विकेट लिए ।
हारसँगै समूहको दोस्रो स्थानमा रहेको आयरल्याण्डले विहीबार (भोलि) फेरि नेपालसँग फाइनल खेल खेल्नुपर्नेछ । भोलीको फाइनल खेलले विश्वकपमा छानिने एक टिमको टुंगो लगाउने छ ।
छनोट प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी जनवरीमा बंगलादेशमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट खेल्न पाउने भएकाले विहीबारको फाइनल खेल दुबै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ ।















प्रतिक्रिया