– कालु बोहरा
अछाम, ४ कात्तिक । अछाममा पाँच कैदीबन्दीको कैद मिनाहा भएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा संशोधित कारागार नियमावली बमोजिम कैद भुक्तान हुन बाँकी रहेका देशभरका ६१० जना मध्य अछामबाट ५ जना कैदीको कैद मिनाहा भएको अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदीले जानकारी दिए ।
कैद मिनाहा हुनेमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तानी गरिरहेका ओखलढुंगा जिल्ला गोरुसिंगे गाविस वडा नं ९ का गोविन्द शेर्पा, अछाम वर्दादेवि गाविस वडा नं १ का जगत दमाई, लोकेन्द्र साउद, वहुविवाह मुद्धामा कैद भुक्तानी गरिरहेका अछाम धमाली गाविस वडा नं ३ का पुर्ण प्रसाद धमाला र उनकी श्रीमती गौरी देवकोटा धमालाको कैद मिनाहा भएको जिल्ला कारागार अछामले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको प्रतिकुल नहुने असल चालचलन भएका वृद्ध र अशक्तसमेतलाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष उमेर पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्थासहित ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम कार्य्विधि, २०७१’ संशोधन गरेको थियो । यसमा गम्भीर अपराध बाहेकका कैदीलाई माफी दिइएको छ । यसअघि ५० प्रतिशत कैद भुक्तान र ७० वर्ष उमेरपछि कैद मिनाहा हुने व्यवस्था रहेको थियो ।
अछाम जिल्लाका कैद मिनाहा गरिएका कैदीहरु आज कारागार मुक्त हुने अछामका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
















प्रतिक्रिया