काठमाडौं, ४ कात्तिक । थारु बाहुल्य क्षेत्रलाई समेटेर संघीय प्रदेश, राज्यका हेरक अंगमा समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चिततालगायतका माग राखेर आन्दोलनरत थारु कल्याणकारिणी सभाले संघर्षका कार्यक्रम सार्वजनिक गर्न राष्ट्रिय भेला आह्वान गरेको छ ।
कात्तिक ८ र ९ गते नवलपरासीको डन्डाखोलामा हुने दुई दिने भेलाले संघर्षका कार्यक्रम सार्वजनिक गर्ने थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।
‘राज्यले थारु समुदायका माग सम्बोधन गर्ने विषयमा कुनै चासो र तदारुकता देखाएन’, उहाँले भन्नुभयो, ‘हाम्रो जारी आन्दोलनलाई कडा र शसक्त बनाउनेभन्दा अर्को बिकल्प रहेन ।’
थारु आन्दोलनकारीहरूले नेपाल–भारतबीचको सीमानाकामा अबरोध गर्नेदेखि आमहड्तालको कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउने विषयमा पनि भेलामा छलफल गर्ने लेखीले उल्लेख गर्नुभयो ।
‘वारपारको आन्दोलन गर्ने तयारीमा छौँ’, पूर्व महामन्त्री लेखीले भन्नुभयो, ‘सरकारलाई थारुका माग सम्बोधन गराउन बाध्य बनाउँछौँ ।’
थारु कल्याणकारिणी सभाले दुई दिने राष्ट्रय भेलाको सम्पूर्ण तयारी भएको जनाएको छ । भेलामा थारु अगुवा नेता, युवा, अध्यक्ष तथा अन्य नेताहरू सबैको उपस्थिति रहनेछ ।















प्रतिक्रिया