२९ आश्विन २०८३, बिहिबार

अमेरिकाबाट छोरीको चिठी: आमा ! घर छोडेपछि बल्ल बास्तविक जीवन थाहा हुँदोरहेछ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dolma-ghising

आमा तिम्रो सम्झनामा मनमनै गुम्सिएका र बहकिएका मेरा भावनाहरू कहाँबाट, कसरी सुरुवात गरौं ? दुबिधामा छु । खै आज यो मनमा धेरै चोटी तिम्रो यादले सतायो सायद नेपालीहरुको महान चाड बडादशैको आगमनले होला, अनि यो बिरानो मुलुकबाट तिम्रो सम्झनाले सताएर यो पत्र लेख्न विवश छु ।

आज मसित ब्यक्त गर्ने त्यति शब्द पनि छैनन् ।  सर्बप्रथम आराम छु । तिमीलगायत सम्पूर्ण घरपरिवार, छरछिमेकको आरामको कामना गर्दछु । आज तिमीप्रतिका माया र मनका केही भावनाहरू पत्रमार्फत् व्यक्त गर्न गइरहेकी छु । पत्रको सुरुवात गर्नु अघि म तिमीलाई ह्रदयदेखी नै सलाम गर्न चाहन्छु ।

आमा तिम्रो माया मुटुभरि बोकेर जीवनका केहि सपनाहरु साकार पार्न भनेर हरेक कुरालाई तिलाञ्जली दिँदै म आफूलाई धेरै टाढा भएकी महसुस् गर्दैछु अनि म अध्ययनको क्रमलाई निरन्तरता दिँदै काम पनि गरिरहेको छु ।

हामी नेपालीहरूको महान पर्व दशैतिहार आइरहँदा धेरै मलाई तिम्रो सम्झनाले पिरोलिरहेको छ, यो वर्ष तिमीसँगै बसेर दशैँ मनाउन नपाउने भएँ, परिस्थितिले यो दशैमा सँगै रमाउन सकिन । जब मानिसले घर छोडेर टाढा जान्छ, त्यसपछि आफ्नो बास्तविक जिन्दगीका बारेमा थाहा हुँदोरहेछ ।

तिमीसँग यो दशैमा पक्कै आउने, खुशीयाली साँट्ने अनि टिका लगाउने भनेर बाचा गरेकी थिएँ तर आमा माफ गर– बिदेशको अवस्था कहिल्यै भने जस्तो र मनले सोचेजस्तो नहुने रहेछ ।

दुःख, आँशु, पीडा, बेदना, हाँसो अनि खुसी के हो ? सबै कुरा बिरानो ठाउँमा हुँदा थाहा हुँदोरहेछ ।

यतिखेर तिम्रो सम्झना र मायाले मलाई अति नै पिरोलीरहेको छ र सँगसँगै देशले केही फरकपना र नयाँपन खोजेको यो बिषम परिस्थितिमा तिमीसित देश र राष्ट्रियताको बारेमा मनमा लागेका केहि कुरा साट्न पनि मन लागेको छ, जब आफ्नो देश भन्दा बाहिर हुँदा झन राष्ट्रप्रतिको अगाढ प्रेमको महसुस् गर्न सकिँदो रहेछ ।

२०७२ सालको नयाँ संबिधान घोषणा अनि संबिधान कार्यान्वयन र समृद्धिको बाटोमा राष्ट्रलाई अघि बढाउन एउटा युगको अन्त्य भई अर्कों नयाँ युगको थालनी भएको महसुस् पनि मनमनै गरिरहेकी छु ।

आमा यसपटक समय र परिस्थितिले यस्तै भयो । २०७२ साल नेपाली जनताका लागि एकदमै सुःख र दुःखको वर्ष भएको छ । गत वैशाख १२ गते आएको महाभूकम्प नेपाल र नेपालीका लागि सबैभन्दा दुखद् क्षण बन्यो । जुन भूकम्पमा परि हजारौ नेपालीले ज्यान गुमाए ,सयौं बेपत्ता भए । सदियौं पुराना ऐतिहासिक धरोहर सदाका लागि ढले ।

तर, असोज ३ गते भने नेपालीहरूको खुशीको दिन बनेर आयो त्यो दिन जब राष्ट्रपति डा रामबरण यादवले सदियौंदेखिको हामी नेपालीहरूले आफ्नो संविधान आफैँ बनाउने चाहना पूरा भएको भनेर नेपालको संविधान २०७२ घोषणा गरे । त्यसपछि आम नेपालीको आँखामा खुशीको दिन थियो त्यो दिन ।

संविधान जारीसँगै नेपाली जनतामा भूकम्पले त्रसित र छिया छिया परेका मनहरूमा शान्ति मिलेको आभास भयो त्यसपछिको खुशी नेपालीहरूले मनभित्रै मात्र सीमित नराखी टोलटोलमा, चोक चोकमा, बस्तिहरुमा दीप प्रज्वलन गरी मनाइरहेको टेलिभिजन सेटमा हेरिरहँदा अब देशले काँचुली फेर्ने भो भनेर मेरा आँखाबाट पनि खुशीका आँशु नआइरहन सकेनन् । र, मैले पनि मनमनै खुसी सांटे, भलै अहिले भारतको नाकाबन्दीले कहिले निराशा थपेपनि यो निराशा धेरै टिक्ने छैन् । जित हामी नेपालीकै हुनेछ ।

तिमी मेरो बारेमा केहि चिन्ता नलिनु । हुन त जब मानिसले घर छोडेर टाढा जान्छ, जब परिवारबाट टाढा हुन्छ अनि त्यसपछि अभावको महसुस् गर्न सकिँदोरहेछ । म यहाँ राम्रो नै गरिरहेकी छु । मैले म र देशको भविष्यलाई कसरी अगाडि बढाउने भन्ने बारे सोचिरहेकी छु । जीवनमा आफ्नो लक्ष्य प्राप्तिका लागि केहि त्याग र संङ्घर्षकै बीचमा मुस्कुराउन सक्नुपर्दछ । जीवनमा अनेकौं चुनौतीको बीचबाट सास्ती नभोगी सफल हुन सक्दैन तद् अनुरूप म आज अध्ययनको क्रममा सबैको सपनाको थलो अमेरिकामा संघर्ष गरिरहेकी छु ।

म सानो छँदा ‘छोरी ! तिमी छोरा सरह हुनुपर्छ, मेरो सपना पूरा गर्नु पर्छ’ भनेर भनेका ती शब्दहरु मेरा कानमा गुन्जिरहेकै छ, तिमीले दिएको वचन मेरा जीवनमा मार्गदर्शन हुनेछन् । आमा म तिम्रो लागि छोरासरह बन्नेछु तिमी सधैँ खुशी रहनु, सम्झेर धेरै नरुनु, आफ्नो राम्रो ख़्याल गर्नु, अन्तमा तिम्रो सपनाहरु साकार पार्ने छु । र, तिमी लगायत सम्पूर्ण छिमेकी र आफन्त जनप्रति दशैँमा खुसी नै खुसीको बास होस । दुःख र शत्रुहरुको नाश होस्, टिकाको रङ्गझै रङ्गियोस्, पलपल होस् प्रगति, सुःख शान्ति र समृद्धि होस्, हरकदममा उन्नति, प्रगति एवं विजयादशमी तथा शुभ दीपावलीको शुभकामना भन्दै अहिलेलाई बिदा लिन चाहन्छु ।

हवस् त
तिम्रो एक मात्र छोरी
डोल्मा
हालः अमेरिका