काठमाडौं, ३ कात्तिक । एमाले नेतृत्वको वर्तमान सरकार दसैँ अगाडि विस्तार नहुने भएको छ । एमाले र अन्य केही साना दलहरूले मन्त्रीको नाम दिन ढिलाइ गरेकाले मन्त्रिमण्डल विस्तारमा समस्या देखिएको हो ।
मन्त्रीमा शपथ लिइसकेका मन्त्रीहरूले पनि मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । मन्त्रिमण्डलले पूर्णता पाएपछि शपथ लिएका मन्त्रीहरूले जिम्मेवारी पाउने जनाइएको छ ।
दैनिक नेपाल डट कमसँग आज कुरा गर्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले दसैँको सार्वजनिक विदा परेकाले र अन्य केही आन्तरिक विषय मिलाउनु पर्ने भएकाले मन्त्रिमण्डल तत्काल विस्तारमा समस्या देखिएको बताउनुभयो । उहाँले संभवत दसैँ लगत्तै मन्त्रिमण्डललाई पूर्णता दिइने बताउनुभयो ।
एमालेले पनि मन्त्रीहरूको नाम चयन गर्न सकेको छैन । उपप्रधानमन्त्री र अर्थ मन्त्रीको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा प्रमुख तीन शीर्ष नेताहरूमा विवाद देखिएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी ओलीले उपमहासचिव विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी दिने पक्षमा हुनुहुन्छ ।
तर वरिष्ठ नेता झलनाथ खनाल सुरेन्द्र पाण्डे तथा अर्का नेता माधवकुमार नेपाल भीम रावलका पक्षमा हुनुहुन्छ । उहाँहरूको अडानले एमालेका मन्त्री चयन गर्न समस्या भएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार नेकपा (माले)का महासचिव मैनालीले पनि उपप्रधान र एक मन्त्रीसहित सरकारमा जाने तयारी गर्नुभएको छ ।
तपाई पनि सरकारमा मन्त्री बन्दै हुनुहुन्छ र ? भनने दैनिक नेपालको जिज्ञासामा महासचिव मैनालीले भन्नुभयो, ‘हेरौँ के हुन्छ ? प्रधानमन्त्रीले के गर्नु हुन्छ ?’















प्रतिक्रिया