काठमाडौं, ३ कात्तिक । कांग्रेसको संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले सरकारी वार्ता टोलीमा आफूहरूले कुनै सहभागिता नजनाउने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै ढुङ्गानाले सरकारीस्तरमा बनाइएको वार्ता टोलीमा बस्ने आफूहरूको कुनै योजना नरहेको बताउनुभयो ।
‘सरकारी वार्ता टोलीमा हाम्रो कुनै संलग्नता रहँदैन’, उहाँले भन्नुभयो, ‘तर दलीय रुपमा हुने वार्तामा कांग्रेसको साथ समर्थन रहन्छ ।’
सरकारले मधेसी मोर्चासँग वार्ता गर्नका लागि उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
वार्ता टोलीमा कानुनमन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र विना विभागयीमन्त्री रामजनम चौधरी सदस्य रहुनभएको छ ।
यसैबीच, कांग्रेस नेता ढुङ्गानाले राष्ट्रपति निर्वाचनमा आफूहरूले अझै ठोस छलफल सुरु नगरेको बताउनुभएको छ ।
‘राष्ट्रपति निर्वाचनका विषयमा कांग्रेसले ठोस छलफल गरेको छैन’, उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा हाम्रो दाबी छ । उम्मेदवारी दिन्छौ । अन्य दलसँग पनि छलफल गर्ने छौँ ।’
उहाँले राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने विषयमा व्यक्तिका बारेमा छलफल नभएको पनि बताउनुभयो ।















प्रतिक्रिया