दमासकस, १ कात्तिक । सिरियाको उत्तरी सहर इदलिबमा शुक्रबार भएको हवाई कारबाहीका क्रममा अल कायदाका एकजना वरिष्ठ कमाण्डर मारिएको समाचार छ ।
सो नगरमा पनि सिरियाली सेनाले गत बिहीबारदेखि रक्षात्मक कारबाही सुरु गरेको समाचारमा जनाइएको थियो । सो सेनालाई रसियाली सेनाको पनि सहयोग रहेको छ ।
आल कायदासँग सम्बन्ध रहेको सिरियाली आतङ्ककारी संगठन अल नुसरा फन्टका ती कमाण्डर अब्दुल मुुसेन अल सारिखको शुक्रबार गरिएको हवाई कारबाहीका क्रममा ज्यान गएको बताइएको छ ।
सो क्रममा उनीसँगै अरु दुई जना आतङ्ककारी पनि मारिएको सिरियाली सेनाले जनाएको छ । सिरियाली सेनाका अनुसार मारिएका अरु दुई जना सदस्य भने उक्त फन्टका उच्च पदस्थ होइनन् ।
सिरियाको सेनाले शनिबार बिहानैदेखि होम्स सहरमा पनि हवाई आक्रमण सुरु गरेको बेरुतबाट प्राप्त समाचारमा जनाइएको छ ।
उक्त आक्रमणमा रसियालीमात्र नभई इरानी सेनाको पनि सहयोग रहेको बताइएको छ । सिरियाली सेनालाई सघाउन इरानले पनि सैनिक पठाएको जनाइएको छ ।
मारिएका ती कमाण्डर सान्फी अल नासरको नामबाट पनि परिचित रहेका थिए । उनी आफ्ना सहयोगीका साथ इदलिबको ग्रामीण क्षेत्र दानातर्फ जादै गर्दा हवाई कारबाहीको निसानामा परेका थिए ।
नुसरा फन्टले ती कमाण्डरलाई एकजना ठूला कमाण्डर भनी टिप्पणी गरेको छ । सो टिप्पणीका क्रममा उसले ती कमाण्डर शुक्रबारको निसानामा परेका पनि स्वीकार गरेको छ ।
मारिएका कमाण्डरसहितको उनको कारको फोटो पनि सो फन्टले अनलाइनमा राखेको छ । अनलाइनमा राखिएको फोटो कमाण्डरकै रहेको प्रहरीले पनि पुष्टि गरेको छ ।
उक्त विज्ञप्तिमा सो फन्टले अरेबियन समन्वय समूहको सेना र अमेरिकी सेनाको कारबाहीका क्रममा आफ्नो वरिष्ठ कमाण्डर मारिएको जनाएको छ ।
टर्कीले सिरियाली आकासमा उडेका युद्धक विमानहरुले टर्कीको आकासको नियम उल्लङ्घन गरेको आरोप लगाइरहेका बेला सिरियाली सेनाले आक्रमणलाई विभिन्न नगरमा विस्तार गरेको छ ।
विद्रोहीहरु बढी मात्रामा रहेका भनिएको होम्स सहरमा सिरियाली सेनाले रक्षात्मक कारबाही सुरु गरेको समाचारमा जनाइएको छ ।
शुक्रबारको सो हवाई कारबाही सिरियाली सेनाले एक्लै आक्रमण गरेको भएपनि शनिबारबाट भने रसियाली सेनाले पनि उसलाई सघाएको छ ।
सिरियामा गएको करिब साढे चार वर्षदेखि हिंसा जारी रहेको छ । त्यहाँ जारी गृहयुद्धका क्रममा साढे दुई लाख नागरिकले ज्यान गुमाइसकेको समाचार संयुक्त राष्ट्रसंघले हालैमात्र दिएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
पछिल्लो समयमा सिरियामा आइएसको आक्रमण बढ्न थालेकोले अमेरिकी नेतृत्वमा केही विदेशी सेनाले हमला थालेका हुन् । तर पछिल्लो समयमा अमेरिकी सेनाले भने आक्रमण रोकेको छ ।
शुक्रबार इदलिबमा गरिएको सो आक्रमण सिरियाली सैनिकले एक्लै वा कसको सहयोगमा गरेको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।
दुई हप्ताअघिदेखि अमेरिकी आग्रहमा भन्दै सिरियामा रसियाले पनि हवाई कारबाही थालेको भएपनि हाल भने अमेरिकाले सो कारबाहीको आलोचना गरिरहेको बताइन्छ । रासस/एएफपी















प्रतिक्रिया