
– नरेश केसी
भैरहवा, २९ असोज । मासुका पारखीहरुको लागि अष्ट्रीच नेपाल प्रालि रुपन्देहीले नेपाली बजारमा ६ सय टन अष्ट्रीच र इमोको मासु ल्याएको छ ।
नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरी प्रालिले आफ्नै उत्पादनमा विश्वकै ठूलो चराको मासु उपभोक्तामाझ ल्याएको हो । लगातार २ महिनादेखिको तराई बन्दको कारण भारतीय बजारबाट पर्याप्त खसी बोका भित्रिन नसक्दा मासुका पारखीहरुको दसैंमा पर्याप्त मासु खान नपाइने हो की भन्ने चिन्तालाई मध्यनजर गर्दै अष्ट्रीच नेपालले दसैं अफरसहित नेपालका मुख्य मुख्य बजारमा अष्ट्रीच र इमोको मासु पठाउने व्यवस्था गरेको कम्पनिका प्रबन्ध सञ्चालक सिपी शर्माले बताए ।
प्रबन्ध सञ्चालक शर्माले भने ‘हामीले उपभोक्ताको हितलाई ध्यानमा राख्दै खसी बोकाको विकल्पको रुपमा अष्ट्रीच र इमोको मासु उपभोक्ता माझ पठाउदैं छौं । हामीसंग ६ सय टन मासु तत्काल उपलब्ध छ ।’ प्रालिले देशका मुख्य शहरहरु काठमाण्डौ, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, बिराटनगर, ईटहरी, झापा, धरान, म्याग्दी, दमौली, बागलुङ, नेपालगन्ज, धनगढी लगायतका स्थानका आम सर्बसाधारणले अष्ट्रिच तथा ईमुको मासु खरीद गर्न सक्ने ब्यबस्था मिलाएको छ ।
यसका साथै कम्पनीले जिउँदै इमो गंगोलिया स्थित कम्पनिबाट खरीद गरि लान सकिने पनि जनाएको छ । जिउँदा इमो औषतमा ६० केजीसम्म हुने गर्दछ । इमोको मासुको स्वाद खसीको जस्तै हुने उपभोक्ताले जनाएका छन् । जिउदो ईमु प्रति किलो ६ सय रुपैयामा र काटेको मासु (फ्रोजन मिट) लाई फर्मबाट ८ सय रुपैयामा र अन्य आउलेट तथा मिटसपहरुबाट १ हजार रुपैया भन्दा कम मुल्यमै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी अष्ट्रिचको हड्डी सहितको मासुलाई १ हजार, हाड नभएको फल मासु १५ सय रुपैया र रेसा नभएको मासुलाई प्रतिकेजी २२ सय रुपैयामा फर्मबाट र आउटलेटबाट बिक्री भैरहेको प्रबन्ध सञ्चालक शर्माले जनाए ।
नेपालका हाइजीन म्यान्टेन गरेका सबैजसो मासु पसल र सुपर मार्केटमा अष्ट्रीच र इमोको मासु पाइने कम्पनीले जनाएको हो ।
चिकीत्सकका अनुसार अष्ट्रिचको मासु पूर्णरुपमा कोलस्टर फ्रि हुनेहुदां मानव शरीरको लागि निकै स्वस्थकर मानिएकोछ । रेड मिटका रुपमा रहे पनि यो मासु सेबनले शरीरलाई कुनै नराम्रो नगर्ने चिकीत्सकको भनाई छ ।
कम्पनिले ‘फेस्टिभ विथ अष्ट्रिच, यत्र तत्र सर्बत्र अष्ट्रिच ’ नारा सहित दसैं अफर योजना लिएको हो । अष्ट्रीच नेपाल ७ बर्ष अघि रुपन्देहीको गंगोलिया गाबिसमा २२ विगाहा जमिनमा स्थापना भएको हो । कम्पनीले पछिल्ला वर्षमा दाङमा समेत अष्ट्रिच फार्म संचालनमा ल्याएको छ भने रुपन्देहीकै सुर्यपुरामा कन्ट्रयाक फार्मिंग गरेको छ । त्यस्तै गरी पुर्बि नेपालमा पनि कृषकहरुले कन्ट्रयाकमा अष्ट्रिच पालन सुरु गरीसकेका प्रालिका प्रबन्ध सञ्चालक शर्माले जनाएका छन् ।
यता नेपाल खाद्य संस्थानले पनि काठमाण्डौंमा खसीबोका र च्यांग्रा पनि विक्री शुरु गरेको छ । संस्थालने खसीको मूल्य ४ सय ६५ तोकेको छ भने निजी व्यवसायीले प्रति केजी ६ सय भन्दा बढीमा बेच्ने गरेको भेटीन्छ ।
गतवर्ष भारतबाट ५० करोड भन्दा बढी मूल्यको खसी बोका आयत भएका थिए भने अहिले त्यो दर अत्यन्तै न्यून छ । तराई मधेस बन्द हुदां खसी बोकाका व्यापारीहरु समेत टाट पल्टीने अवस्थामा पुगेका छन् ।
मासुको मुख्य कारोबार हुने काठमाण्डौंमा तिब्बतबाट च्यांग्राहरु र भारतबाट खसी बोका भित्रीने गर्दछन् । यसपटक स्वदेशी उत्पादन मासुको नयां स्वाद अष्ट्रीच र इमोले पनि बजारमा पकड जमाउने बजार विश्लेषको तर्क छ । अष्ट्रीच र इमोको प्रायाप्त उत्पादन र विक्री वितरणले मासुको नाममा करौडौ नेपाली मुद्रा विदेशीने दर पनि घट्नेछ ।























प्रतिक्रिया