३० आश्विन २०८३, शुक्रबार

ओबामाले बोलाएपछि पाकिस्तानी प्रधानमन्त्री अमेरिका जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawaz-sharifइस्लामावाद, २८ असोज । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले यही अक्टुबरको २० देखि २४ तारिखसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने भएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको निमन्त्रणामा उहाँ अमेरिका जान लाग्नुभएको पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बिहीबार दिइएको जानकारी अनुसार पाकिस्तानी प्रधानमन्त्री शरिफले सो भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा र अमेरिकी मन्त्रिपरिषद्का सदस्यहरूसँग भेटवार्ता गर्नुहुने छ ।

अगस्ट महिनामा भएको अमेरिकी सुरक्षा सल्लाहकार सुसन राइसको पाकिस्तान भ्रमणका क्रममा उहाँले पाकिस्तानी प्रधानमन्त्रीलाई राष्ट्रपति ओबामाको आमन्त्रण हस्तान्तरण गर्नुभएको थियो । गत महिनामात्र पनि पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गरी संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताका लागि अमेरिका पुग्नुभएको थियो ।

अमेरिकाका लागि पाकिस्तानी राजदूत जलिल अब्बासले पछिल्लो समयमा पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध राम्रो रहेको जानकारी दिनुभयो ।

सो भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानी अर्थतन्त्रको पुनःस्थापना, आतङ्कवादका विरुद्धमा गरिने लडाईका साथै अन्य क्षेत्रीय मुद्दाहरूमा कुराकानी गर्नुहुने बताइएको छ ।

राजदूत अब्बासले भन्नुभयो– बिगतको तुलनामा हाल दुई देशबीचको सम्बन्ध राम्रो छ । यही सम्बन्धलाई थप सुदृढ बनाउनका लागि पनि यो भ्रमण हुन लागेको हो ।

राजदूत जलिलले विगत लामो समयदेखि नै अमेरिकाले पाकिस्तानलाई आतङ्कवादविरुद्धको सङ्घर्षका लागि सघाएको पनि जानकारी दिनुभयो । आतङ्कवादविरुद्धमा लड्न अमेरिकाले पाकिस्तानलाई युद्ध सामग्रीका साथै विभिन्न हातहतियार आदिका माध्यमबाट सघाउँदै आएको छ ।

शरिफले यसअघि सन् २०१३ मा तेस्रो पटक पाकिस्तानको प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि अमेरिकाको भ्रमण गर्नुभएको थियो । रासस/सिन्ह्वा