काठमाडौं, २८ असोज । चीनसँग जोडिएको रसुवागढी नाका बिहिबार (आज)देखि सञ्चालनमा आएको छ ।
भारतबाट सहज रुपमा सामानहरु नेपाल आउन नसकिरहेका बेला आज बिहान ९ बजे दुवै देशका सरकारी अधिकारीको उपस्थितिमा एक समारोहका बीच बन्द रहेको नाका खुलाइएको हो । गत वैशाख १२ गते भूकम्पले पहिरो खसेर चीनको केरुङ जोड्ने सडक अवरुद्ध हुँदा सो नाका बन्द भएको थियो ।
स्थानीय व्यवसायीहरुका अनुसार अवरोध हटेसँगै उक्त नाका प्रयोग गरेर सामान ल्याउने तयारी समेत भइरहेको छ ।
दुवै देशतर्फको प्रयासपछि रसुवागढी नाका सञ्चालनमा आएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अवरुद्ध सडकहरु नेपालतर्फ सञ्चानलमा आइसकेका छन् भने चीनतर्फको बाटो पनि खोल्ने काम सकिएकाले आजबाट औपचारिक रुपमै रसुवागढी नाका खुलेको छ, छिट्टै सामान आपूर्ति कार्य सुरु हुन्छ ।’
नाका सञ्चालनका लागि सरकारीस्तरमा स्थापना गर्नुपर्ने भन्सार, अध्यागमन कार्यालय लगायतका सरकारी कार्यालयको स्थापनाको काम दुवै देशका तर्फबाट भइसकेको उहाँले बताउनुभयो । यातायातलाई सहज रुपमा सञ्चालन गर्न नेपालतर्फको सडकका विभिन्न स्थानमा स्काभेटर र डोजरहरुको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाई छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रमेश बरालले अझै पनि आफूहरुका धेरै सामानहरु खासामै अडकिएको बताउँदै त्यो खासाको कतिपय सामान रसुवागढी हुँदै छिट्टोभन्दा छिट्टो नेपाल ल्याउने काममा व्यापारीहरु लागिरहेको बताउनुभयो ।
भारतीय अघोषित नाकाबन्दीका कारण नेपाली बजारको सामान आयात गर्ने अर्को देश चीनसँग जोडिएका तर भूकम्पका कारण सञ्चालनमा नरहेका नाका खोल्ने प्रयास केही सातायता तीव्र पारिएको थियो । नाका खुलेसँगै चीनको खासाबाट ५ सयदेखि ६ सयसम्म कन्टेनर सामान बोकेर नेपाल आउने तयारीमा रहेको व्यापारीहरुले बताएका छन् ।















प्रतिक्रिया