२९ आश्विन २०८३, बिहिबार

चार हजारबाट करोडपति बनेका भैरब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhairab 2

कुनै पनि काम गर्दा पैसालाई बाधक ठान्नेहरु धेरै छन् । उनीहरुका लागि उदाहरण हुन्, भैरब ढकाल । जो भूँइ मान्छेबाट उठेर करोडपतिको शिखर चढ्न सफल भएका छन् ।

अस्ट्रेलियामा उनका चार वटा रेष्टुरेण्ट छन् । जहाँ नेपाली भान्सा पाक्छ । हाउजिङ व्यवसायमा करौडौँ लगानी छ । १.५ मिलियन अमेरिकी डलर लागानी पुर्‍याइसकेका छन् । झट्ट सुन्दा लाग्न सक्छ उनी कुनै उद्योगपतिका छोरा होलान्, वा करोडपति परिवारका सदस्य । होइन, उनी सामान्य परिवारका मान्छे हुन् । आजको भैरब ढकालभित्र आँशु, पसिना, संघर्ष र मेहनत लुकेको छ । उनै ढकाल एनआरएनएको आगामी कार्यकालका लागि कोषाध्यक्ष बन्न कस्सिएका छन् ।

भोजपुरका ढकाल एसएलएसी उत्तीर्णपछि उच्चशिक्षाका लागि विक्रम सम्वत २०४४ मा काठमाडौं हानिए । अनि मीन भवन क्याम्पसमा पढ्न थाले । घरबाट आमाबुवाले जोहो गरिदिएको ४ हजार रुपैँया लिएर हिँडेका ढकाललाई त्यो पैसाले कति दिननै धान्थ्यो र ? ढकाल विगतमा फर्कन्छन्, ‘त्यो रकम एक हप्तामै सकियो । त्यसपछि के गर्ने ? फर्साद पर्यो ।’ तर, काठमाडौं बसाइमा त्यसपछि उनले कहिल्यै घरबाट पैसा मगाएनन् ।

उनी जागिरको खोजीमा भौँतारिए । कति दिन त खर्चको अभावमा कष्टकर दैनिकी काटे । त्यतिबेला पढे लेखेकाहरु कम भएकाले होला, सामान्य एक कम्पनीमा एकाउण्टेन्टको काम पाइहाले । उनी भन्छन्, ‘अहिले त त्यो कम्पनी छैन होला ।’

जागिरले थोरै भए पनि उनको जीवनमा उर्जा थप्यो । उनी संघर्षपूर्ण दिनहरुमा हराउँछन्, ‘बिहान ६ बजे कलेज जान्थे, १० बजे अफिस पुग्थे, ५ बजे कोठामा फर्किएर फेरि पढ्न शुरु गर्थे ।’ यसैगरी मीन भवनको पढाई सक्काए र बीबीएसको लागि शंकरदेव क्याम्पसमा भर्ना भए । त्यो पनि आफ्नै पैसाले ।

अस्ट्रेलियामा उनका चार वटा रेष्टुरेण्ट छन् । जहाँ नेपाली भान्सा पाक्छ । हाउजिङ व्यवसायमा करौडौँ लगानी छ । १.५ मिलियन अमेरिकी डलर लागानी पुर्‍याइसकेका छन् । झट्ट सुन्दा लाग्न सक्छ उनी कुनै उद्योगपतिका छोरा होलान्, वा करोडपति परिवारका सदस्य । होइन, उनी सामान्य परिवारका मान्छे हुन् । आजको भैरब ढकालभित्र आँशु, पसिना, संघर्ष र मेहनत लुकेको छ ।

आफ्नो पढाइलाई निरन्तरता दिँदै जागिरको पनि गेर बढाउँदै लगे । लगत्तै एक रेष्टुरेण्टमा म्यानेजर बन्ने अवसर पाए ।

उनी प्राइभेट कम्पनीमै काम गर्दा व्यवसायको भूत चढिसकेको थियो । घरबाट भने सरकारी जागिरका लागि दबाब दिन थाले । उनी लोकसेवा भिड्न पनि छाडेनन् । त पढाई छोडे, न त जागिर नै । ०४५ सालका भारतीय नाकाबन्दीका बेला ६ महिना इन्धन संस्थानमा पनि जागिर गर्न पुगेका थिए । भन्छन्, ‘लेखा अधिकृतको रुपमा सरकारी जागिरमा कोशिष गरँे, दुई पटकसम्म बैंकमा पनि कोशिष गरँे तर सफल भइन ।’

उनले शंकरदेवबाट डिग्री सिद्धाए ।

उनीबाट पढाइको भुत अझै उत्रिसकेको थिएन । सीए पढ्न भारत जाने सोच बनाएका थिए । नाम निस्किएन । लगत्तै १९९४ मा पढ्नका लागि विजनेश म्यानेजमेन्ट कलेज, सिंगापुर पुगे । साथमा, लोनमा झिकेको ५० हजार रुपैयाँ बोकेर । उनी मलिन बन्छन्, ‘पढ्ने खर्चको अभावमा एक वर्षमै नेपाल फर्किएँ ।’

अस्ट्रेलियाको यात्रा

अस्ट्रेलियाबाट नेपाल फर्के लगत्तै नेपालमा सञ्चालित एक पाँच तारे होटलले ढकाललाई म्यानेजरको रुपमा अस्ट्रेलिया लिएर जाने भयो । अनि उनी १९९६ मा अस्टे«लिया पुगे । अस्ट्रेलिया धेरै नेपालीको सपनाको देश पनि हो । उनी आफ्नै मेहनतले त्यही देशमा पुगे ।

दुई वर्ष आफ्नो जिम्मेवारी निर्वाह गरी नेपाल फर्किए । शान्ति परिवारसँग बैवाहिक जीवनमा बाँधिए । उनको मागी विवाह थियो त्यो । अनि उनको जीवनको अर्को अध्याय शुरु भयो ।

त्यसपछि पुनः अस्ट्रेलिया नै फर्किए । उनी भन्छन्, ‘त्यसपछि फेरि संघर्षका दिन शुरु भए । श्रीमतीको जागिर थिएन । खर्च धानेर दुई चार पैसा जोहो गर्न पनि कम्ता सकस थिएन ।’

चार वर्षपछि अर्को विदेशी रेष्टुरेण्टको म्यानेजर बन्न पुगे, ढकाल । उनी भन्छन्, ‘त्यसपछि केही रकम जोगियो, आइडिया पनि भयो ।’ त्यही वर्ष उनले हस्पिटालिटी र एकाउण्टेन्टमा डिग्रीको सर्टिफिकेट हासिल गरेका थिए ।

त्यही अनुभवले उनलाई व्यवसायको बाटोतर्फ दोर्यायो । अनि सन् २०१० मा रेष्टुरेण्ट व्यवसायमा हात हाले । अनि शुरु भयो उनको व्यवसायिक जीवन ।

अस्ट्रेलियामा धेरै रेष्टुरेण्टहरु छन् । तर, उनलाई फरक र नेपालको अनुभूति गराउने रेष्टुरेण्ट खोल्ने भुत सवार भएको थियो । त्यसैले अस्ट्रेलियास्थित पर्थमा हिमालयन नेपलिज रेष्टुरेण्टको शुरुवात गरे । जुन रेष्टुरेण्टमा पुग्दा जो कोहीलाई पनि नेपालमै पुगेको अभाष दिलाउँछ ।

दुइ लाख डलर खर्चेर १२ जना स्टाफहरुबाट सञ्चालित उक्त रेष्टुरेण्टले यसरी पिकअप लियो कि पाँच बर्षकै अवधिमा चारवटा उही रेष्टुरेण्ट खोल्ने हैसियत कायम गर्यो । ढकालले २०११, १३, १५ मा पर्थकै फरक फरक ठाउँमा आफ्नो रेष्टुरेण्टको शाखा विस्तार गरे । जसको लगानी १.५ मिलियन अमेरिकी डलर पुगेको ढकाल बताउँछन् । उनले २०११ देखि हाउजिङ व्यवसाय पनि शुरु गरेका छन् । उता, सिड्नीबाट प्रशारण हुने एमएन टिभीको समेत डाइरेक्टरको भूमिकामा छन् । उनको श्रीमती लाइबेरी टेक्निसियनको रुपमा कार्यरत छिन् । एक छोरा र एक छोरीसहितको सुखी जिवन विताइरहेका छन्, ढकाल दम्पत्ती ।

सामाजिक काममा पनि उस्तै क्रियाशिल

उनी अस्ट्रेलिया पुग्दा त्यहाँ करिव ४० जना नेपालीहरु मात्र थिए । ती नेपालीहरुलाई एउटै शुत्रमा बाँध्न र होमसिकबाट मुक्त बनाउन ढकालकै पहल स्वरुप २००४ मा नेपलीज एसोसियसन अफ वेस्टर्न अस्ट्रेलिया नामक संस्थाको शुरुवात भयो । जसले विभिन्न समयमा कार्यक्रम गर्नेदेखि अन्य सामाजिक गतिविधि गर्दथ्यो । खेल, डान्सदेखि बच्चाहरुलाई नेपाली भाषा सिकाउनेसम्मको काम गर्दथ्यो । उनी उक्त संस्थाको अहिले पनि सल्लाहकारको भूमिका छन् ।

सन् २००९ बाट ढकाल एनआरएनएमा आबद्ध हुँदै सामाजिक कार्यमा थप क्रियाशिल हुन थाले । २०११ देखि १३ को कार्यकालमा एनआरएनए अस्टे«लियाका उपाध्यक्ष भएलगत्तै अस्टे«लियाका प्रत्येक राज्यमा एनआरएन गठन गरे । जुन संघको नीतिसम्बत थिएन । तर, विधान संशोधन गरेरै त्यो काम फत्ते गरे । त्यही टिमको आडमा एक लाख साठीहजार डलरको कल्याणकारी कोष स्थापना गर्न पुगे । जुन कोषले अप्ठ्रोमा परेका नेपालीलाई राहत प्रदान गरेको छ ।

ढकालले २०१३ देखि १५ को कार्यकालमा आइसीसी सदस्यको भूमिका निर्वाह गर्दै आएका छन् । यस पदमा रहँदा पनि उनी हात बाँधेर बसेनन् । विभिन्न च्यारिटी गर्दै अगाडि बढे । त्यसैले होला टाक्सफोर्सको डिपुटी कोर्डिनेटरको जिम्मेवारी पनि पाए । उनकै पहलमा अहिले विराटनगरको पाथीभरामा बृद्धाआश्रम निर्माण हुँदैछ ।

प्रस्तुतिः विश्वास, दैनिक नेपाल