२९ आश्विन २०८३, बिहिबार

ओली आएपछि देखिएको गज्जबको संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabin-Priyasan-Dang

राष्ट्रबादी दलहरुको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली राजनीतिमा अर्को तरंग छाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाललाई आफ्नो पकडमा राख्न चाहन्छन् । उनले संविधान निर्माणमा भूमिका खेल्न नपाएकै झोँकका कारण दलहरुबीचको एकता तोड्न ठूलो कसरत गरे । वामपन्थी दलहरु भारतको गोटी बन्ने लक्षण नदेखेपछि मोदीले सरकारले सत्ताको लोभ देखाएर नेपाली कांग्रेसलाई रणभूल्लमा पार्न सफल भएको छ । नेपाली कांग्रेस सहजै मोदीको खेलमा फस्यो । जसले गर्दा अभिभावक सुशील कोइरालामार्फत सिंगो कांग्रेसप्रति जनताको तुष बढाउने काम पछिल्ला गतिविधिहरुका कारण भएको छ । तथापि भारतले दलहरुलाई फूटाउनासाथ निर्वाचित प्रधानमन्त्री ओलीलाई मोदीले स्वयं फोन गरेर बधाई दिएका छन् । उनको बधाई कपटपूर्ण छ भन्नेमा कुनै शंका छैन । त्यसैले मोदीले फोन गरे भन्दैमा हौसियरी अपनाउन जरुरी छ । भारतसँग लम्पसार पर्नु भन्दा पनि असल छिमेकीका हिसाबले त्यसलाई ग्रहण गर्दै भारतप्रतिको पूर्णनिर्भरतालाई कम गर्दै चीनसँग पनि समान सम्बन्ध कायम राख्ने सवालमा ओली सरकारले ध्यान दिनुपर्छ । देश भन्दा ठूलो पार्टी हुन सक्दैन । स्वार्थको पट्टी लगाएर राष्ट्रघातको नाँगो नाच नाँच्दा समेत लज्जाबोध नहुने गरी अगाडि बढ्दा राष्ट्रबादी जोकोहीको नजरबाट उठ्नै नसक्ने गरी झरिन्छ ।

यतिबेला नेपाली कांग्रेसले यस्तै नियति व्यहोरेको छ । एकातिर हारको नमिठो पलसँग पैठेजोरी गर्नु परेको छ भने अर्कोतर्फ पार्टीका शुभेच्छुक, समर्थकहरुले पनि कांग्रेस नेताहरुको पछिल्लो कदमलाई मन खोलेर बिरोध गरिरहेका छन् । तसर्थ नेपाली कांग्रेसले अब जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै संविधान कार्यान्वयनको सवालमा आफूलाई इमान्दारिताका साथ होम्नुपर्छ । गल्ती गरेपछि त्यसलाई सच्चाउन सकियो भने क्रमशः जनताले त्यो कुरालाई बिर्सनेछन् । भारतपरस्त चिन्तनमा लिप्त भएर सहमति र सहकार्यको डोरीलाई चुडाएको नेपाली कांग्रेसले संविधान कार्यान्वयनको सवाललाई प्राथमिकता दिनुपर्छ । बिगतमा एकीकृत नेकपा माओवादीले गल्ती गर्दा उ ठूलो दल हुँदाहुँदै राज्यका सबै जिम्मेवार पदमा अरु नै पुगेका थिए । यतिबेला कांग्रेसको अवस्था त्यस्तै भएको छ । यही कुरालाई बुझेर नै एमाओवादीले पछिल्ला दिनहरुमा आफूलाई इमान्दार तरिकाले अगाडि बढाएको हो । नेकपा एमालेले पनि राजाको शासनकालमा आधा सच्चिएको भन्दै सरकारमा सहभागिता जनाएको थियो । जसले गर्दा पहिलो संविधानसभा निर्वाचनमा एमालेले लज्जास्पद हार व्यहोरेको हो । पछि एमालेले यो कुरालाई आत्मलोचना पनि गरेको थियो । त्यसैले गल्ती हुन्छ, गल्तीलाई सच्चाउन सक्नुपर्छ । नेपाली कांग्रेसले गम्भीर गल्ती गरेको छ । गल्तीलाई आत्मैबाट मनन् गर्दै सच्चिनुको विकल्प छैन ।

२०५१ सालमा बनेको ९ महिने सरकारमा गृहमन्त्री बनेर सरकारलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ओलीले आफ्नो नेतृत्वको सरकारलाई नमुना बनाउनका लागि प्रभावकारी नेतृत्वदायी भूमिका खेल्नेछन्, खेल्नुपर्छ । देशलाई तुहिनमुक्त बनाउने प्रधानमन्त्री ओलीको पहिलो घोषणाले पनि ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने २०५१ सालको नाराको संकेत दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री बनेका छन् । उनको जितलाई सिंगो मुलुकले राष्ट्रियता र स्वाधिनताको जीतसँग तुलना गरिरहेका छन् । तसर्थ जितलाई निराशामा भन्दा पनि ओलीले उमंगमा बदल्न सक्नुपर्छ । ओलीले भने झैं उनलाई भोट हाल्नेलाई नपछुताउने र भोट नहाल्नेलाई राम्रो काम गरेर किन भोट हालिन छु भनेर बाडुल्की लाग्ने वातावरण निर्माण गर्नुपर्छ । मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै जुट्ने प्रभावकारी योजना ओली सरकारले निर्माण गर्नुपर्छ । भारतको पछिल्लो गतिविधिहरुले नेपालीको मनमनमा राष्ट्रियताको भावना जागरुक भएको छ । देशका लागि अब केही गर्नुपर्छ भन्ने भावना नेपाली जनतामा जागेको छ । तसर्थ यस्तो अवस्थामा राज्यले जिम्मेवार ढंगबाट भूमिका निर्वाह गर्न सक्यो भने मुलुकलाई केही बर्षमै चमत्कारीपूर्ण तरिकाले विकासको उच्च तहमा पु¥याउन सकिन्छ । भारतीय नाकाबन्दीका कारण देखा परेको चरम इन्धन अभाव र त्यसले सिर्जना गरेको विकराल अवस्थालाई हेर्दा अब मुलुकले उर्जा उत्पादनलाई प्राथमिकता दिनुपर्छ । राज्यले प्रभावकारी योजना बनाएर उर्जा उत्पादन कार्यलाई प्राथमिकता दियो भने विद्युतबाटै सबै समस्याको समाधान नेपालले निकाल्न सक्छ । नेपालको विकासलाई गतिदिने एउटै माध्यम उर्जा हो । उर्जा उत्पादनका लागि हामीलाई भारतीय निगाह आवश्यक छैन । भारतले नेपाललाई हेपेको पनि इन्धनकै कारणले रहेछ भन्ने पुष्टि पछिल्ला दिनहरुमा भएका छन् । तसर्थ उर्जा उत्पादनका लागि जति पनि सम्भावनाहरु छन्, ती सबै उपायहरुलाई राज्यले अपनाउनुपर्छ ।

नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बनि सकेपछि उनका अगाडि धेरै चुनौतीहरु छन् । एकातिर भारतसँग बिग्रिएको सम्वन्ध सुमधुर बनाउनु छ भने अर्कोतर्फ चीनसँगको सम्बन्ध अझैं बढाउनु पर्नेछ । फरक–फरक आस्था र विचार राख्ने दलहरुको सहभागितामा निर्माण हुन लागि रहेको नयाँ सरकारलाई सफल बनाउनका लागि ओलीले असल अभिभावकको भूमिका निर्वाह गर्नैपर्छ । साथै, विपक्षमा बसेका नेपाली कांग्रेस र मधेशवादी दलहरुलाई पनि संविधान कार्यान्वयनको पक्षमा लाग्ने वातावरण निर्माण गर्नुपर्ने जिम्मेवारी ओलीको काँधमा आएको छ । महिनौँदेखि आन्दोलन गरिरहेका मधेशवादी र थारु, जनजातिहरुको जायज मागलाई सम्बोधन गर्ने सवालमा पनि ओलीले भूमिका खेल्नुपनेछ । ओलीका अगाडि थुप्रै चुनौतीहरु छन् । ती सबै चुनौतीलाई विवेकपूर्ण निर्णय गर्दै अबसरमा परिणत गर्नका लागि ओली सक्षम भएको खण्डमा नेकपा एमालेको २०५१ सालमा बनेको ९ महिने सरकार अहिलेसम्म मुलुकको उत्कृष्ट सरकारमा गनिन्छ, त्यसरी नै ओलीको नेतृत्वका सरकार पनि सबैको मनमनमा बस्नेछ । एमालेको ९ महिने अल्पमतको सरकारमा गृहमन्त्री बनेर सरकारलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ओलीले आफ्नो नेतृत्वको सरकारलाई नमुना बनाउनका लागि प्रभावकारी नेतृत्वदायी भूमिका खेल्नेछन्, खेल्नुपर्छ । देशलाई तुहिनमुक्त बनाउने प्रधानमन्त्री ओलीको पहिलो घोषणाले पनि आफ्नो गाउँ आफै बनाउँ भन्ने २०५१ सालको नाराको संकेत दिएको छ । किनकी प्रयास सानो कामबाटै गर्नुपर्छ, ठूला ठूला गफ हाँकेर केही नगर्ने नेताहरुकै रोग हो ।

अर्कोतर्फ, ओलीलाई काम गर्न निकै सहज पनि देखिएको छ । पहिलो पार्टी काँग्रेस बाहेक अधिकांश दल उनको पक्षमा देखिनु नै उनका लागि निकै नै सकरात्मक पक्ष हो । विजयकुमार गच्छदार र कमल थापा जस्ता उपप्रधानमन्त्री पाउनु आफैमा प्रभावकारी र नेतृत्वदायी सरकारको संकेत मिलेको छ । अझ एमाओवादीलाई साथमा लिँदै देश र जनताको भावना अनुसार अघि बढ्ने हो भने ओली सरकार लोकप्रिय नहुने प्रश्नै छैन ।

ओली आएपछि आकाश नै खस्छ भनेर प्रचार गर्नेहरुलाई त झनै ठूलो जबाफ भएको छ किनकी ओलीका सामु भारत समेत गलिसकेको छ । भारत आफैले बोलाएर तेल दिन थालेको छ भने सिमा नाकाहरु पनि सहज हुन थालेको छ । केही दिनमै नाका सहज बने ओलीको नेतृत्वले झन् हाइ हाइ पाउनेछ ।