भक्तपुर, २५ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कसैको दबाबमा आएर हतारमा संविधान संशोधन गर्न नहुने बताउनुभएको छ ।
आज रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो – “कसैको दबाबमा हतारिएर संविधान संशोधन गरे देशमा अस्थिरता बढ्छ । देशकै लागि घातक साबित हुन्छ ।”
नेमकिपाले ओली नेतृत्वको सरकारलाई सशर्त समर्थन गरेको र प्रतिपक्षमै बस्ने जानकारी गराएको बताउनुभयो ।
अघोषित नाकाबन्दीप्रति कुनै प्रतिक्रिया नजनाएको भारतको ओली प्रधानमन्त्री भएलगत्तै बधाई दिने र इन्धन लिन आउन आग्रह गर्ने कामप्रति उहाँले आशङ्का पनि व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीलाई मोदीले भन्दै भारतको विश्वासमा नलाग्न सचेत गराउनुभयो । ‘नाकाबन्दी खुलाउन खोज्दा एक शब्द नबोल्ने, अहिले आएर बधाई दिने । यो दोहोरो चरित्रबाट प्रधानमन्त्री ओलीले बच्नुपर्छ । वर्तमान सरकार सचेत रहनुपर्छ । अन्यथा ओलीले हाम्रो विश्वास गुमाउनेछन् ।’
चीनले नेपाललाई चाहिने जति इन्धन दिन सक्ने भएपनि नेपाल सरकारले कुनै लिखित प्रस्ताव नराखेकाले समस्या आएको उहाँको भनाइ थियो । रासस















प्रतिक्रिया