२२ कार्तिक २०८३, आइतबार

कांग्रेसले राजनीतिक बेइमानी गर्‍योः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliकाठमाडौँ, २३ असोज । नेकपा(एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकले संसदीय दलका नेतासमेत रहनु भएका ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गराउन संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आग्रहसमेत गरेको छ ।

संविधान घोषणा भइसकेको र त्यसको सहज कार्यान्वयनका लागि सबै दलको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै एमालेले सबै दलको सहमति र एकता आवश्यक रहेकामा जोड दिएको छ ।

बैठकले छिमेकी भारतबाट इन्धन, औषधि, तथा अत्यावश्यक पदार्थको आयातमा भइरहेको अवरोधप्रति चिन्ता जाहेर गरेको छ । भूपरिवेष्ठित मुलुकले अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको पारवहनलगायत सुविधामा अवरोध भइरहेको भन्दै एमालेले नेपाल–भारत सीमामा देखिएको अवरोध तत्काल खुलाउन भारतलाई आग्रह गरेको छ ।

अघोषित नाकाबन्दीका कारण जनताको दैनिक जनजीवन प्रभावित भएको र हैरानी खेप्नु परेको भन्दै वैकल्पिक व्यवस्था गरेर भएपनि जनजीवन सामान्य बनाउन बैठकले आग्रह गरेको एमालेका प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।

यसअघि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेसले विगतमा गरेको प्रतिबद्धता र सहमति विपरीत आफैँले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने निर्णय गर्नु राजनीतिक बेइमानी भएको बताउनुभयो ।

राष्ट्रिय सहमतिको सरकारकालागि आफूले अन्तिम समयसम्म पनि प्रयत्न गरेको जानकारी गराउँदै ओलीले संसदीय दलको बैठकमा भन्नुभयो, “विगतमा सहमति र सम्झौताबाट काँग्रेसपछि हटेको छ, यसले कोहीकसैलाई राम्रो गर्दैन ।”

बैठकमा नेकपा(माले), जनमोर्चा नेपाल, नेपाल परिवार दल, नेकपा(संयुक्त)लगायत दललाई समेत आमन्त्रण गरिएको प्रमुख सचेतक खरेलले जानकारी दिनुभयो ।

“हामीले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहमतिको साथ अगाडि बढ्न र आफ्नातर्फबाट उम्मेदवारी दर्ता गराउन लाग्नु भएका अध्यक्ष ओलीलाई सहयोग गर्न आग्रह ग¥यौँ”–बैठकको निर्णयबारे जानकारी गराउँदै प्रमुख सचेतक खरेलले भन्नुभयो । रासस