– विमल योगी
काठमाडौं, २२ असोज । नयाँ सरकारको नेतृत्वको विषयलाई टुङ्गो विहीबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक विना निष्कर्ष सकिएको छ ।
विहीबार विहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक शुक्रबार अपराह्न विना निष्कर्ष सकिएको हो । बैठकमा सरकारको नेतृत्व आफै लिने की एमालेलाई सहयोग गर्ने विषयमा छलफल भएको थियो ।
बैठक सकिएपछि केन्द्रीय सदस्यहरु अन्यौलमा परेका छन् । उनीहरु अहिले बालुवाटारमै बसिरहेका छन् । यता पार्टी बैठक सकिएलगत्तै कांग्रेसका शीर्ष नेताहरुको गोप्य बैठक सुरु भएको छ ।
स्रोतका अनुसार एमालेलाई नेतृत्व दिने की आफै नेतृत्व लिने विषय टुङ्गो लगाउन कांग्रेसका शीर्ष तीन नेता, प्रधानमन्त्री एवं सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच गोप्य छलफल भइरहेको छ ।
एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेर बहुमत जुटाइसकेको अवस्थामा आफ्नो बहुमतको स्थिती हेरेर गोप्य बैठकले नयाँ सरकारको नेतृत्वबारे निर्णय दिने अपेक्षा गरिएको छ । गोप्य बैठकको निर्णय ल्याएपछि नयाँ सरकारको नेतृत्वबारे टुङ्गो लाग्नेछ ।












प्रतिक्रिया