– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २१ असोज । नेपालगन्ज नाकामा धर्ना दिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विहीबार नेपालगन्ज पुगेका छन् ।
बीरगञ्ज नाकामा धर्ना दिँदै नाका ठप्प पारेका महतो मंगलबार मात्रै भैरहवाको कमाण्ड सम्हालेका थिए । बीरगञ्ज जस्तै भैरहवामा नाका अवरोध कार्यक्रम सफल नभएपछि महतो विहीबार नेपालगञ्ज पुगेका हुन् । भैरहवामा स्थानीय प्रशासनले महतोलाई तह लगाउन सुरक्षा योजना नै बनाएको थियो । स्थानीय प्रशासनको सुरक्षा योजनासामू महतोको नाका अवरोध गर्ने योजना ससफल भएको हो ।
यसअघि भैरहवा नाकाको कमाण्ड सम्हाल्दै आएका तमलोपा अध्यक्ष महन्थ ठाकुरको धर्नाले कुनै प्रभाव पारेको थिएन् । यस्तै, मधेसी मोर्चाले नेपालगन्ज नाकामा कुनै प्रभाव पार्न नसकेको ठहर गर्दै महतो धर्ना दिन आफै नेपालगन्ज आएका हुन् । सद्भावना पार्टीले विज्ञप्ती जारी गरी मोर्चाले नेपालगन्ज नाकामा प्रभावकारी धर्ना दिन नसकेको ठहर गरेको छ ।
महतो धर्नाका लागि नेपालगन्ज आउन लागेपनि परिस्थिति र जनमानस हेरेर मात्र धर्नामा बस्ने तय हुने सदभावना पार्टीका केन्द्रिय सदस्य रामकुमार दिक्षितले जानकारी दिए । महतो भारतीय भूमि हुँदै नेपालगन्ज पुगेका हुन् । यसअघि महतो बीरगञ्ज नाकामा धर्ना दिँदै आएका थिए । महतो आउने भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको बाँके प्रहरीले जनाएको छ ।












प्रतिक्रिया