१ कार्तिक २०८३, शनिबार

प्रहरी पेट्रोल पम्पमा बेइमानी: व्यापारीलाई तेल, सर्वसाधारणलाई झेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-petrol-pump

काठमाडौँ, २० असोज । नेपाल प्रहरीको पेट्रोल पम्पबाट नै मनपरी रुपमा पेट्रोल तथा डिजेल वितरण भइरहेको गुनासो बढ्न थालेको छ ।

सरकारले निजी सवारी साधनमा नदिने भनेपनि व्यापारी तथा उच्च घरानाहरुले भने प्रहरीको उच्च अधिकारीको शक्ति प्रयोग गरेर धमाधम आफ्ना गाडीमा तेल हालिरहेका छन् । जबकि सर्वसाधारणले भने एकलिटर डिजेल पाउन समेत मुश्किल छ ।

एकाबिहानैदेखि मध्यरातिसम्म लाइनमा बस्ने सर्वसाधारणलाई प्रहरीले तेल छैन, माथिको आदेश भन्दै रोक्ने गरेको छ । तर, पहुँचवालालाई भने प्रहरी कल्याण कोषका एसएसपी लव विष्टले कुपनमार्फत धमाधम तेल बाँडिरहेका छन् ।

प्रहरीका केही हाकिमहहरुले व्यापारी तथा उच्च घरानाहरुलाई तेल दिएर कमिशन समेत खाइरहेको प्रहरी कल्याण कोष अन्तरगत संचालित प्रहरी पेट्रोल पम्पमा कार्यरत एक प्रहरी अधिकृतले बताए । ती अधिकारीका अनुसार, रातको समयमा ठूला ठूला भाँडामा हालेर व्यापारीकै घरमा समेत डिजेल र तेल पुर्‍याउने काम भइरहेको छ । सर्वसाधारणले भने जतिसुकै संकट पर्दा समेत एकलिटर तेलसमेत पाउन सकेका छैनन् ।

बुधबार दिउँसो प्रहरी पेट्रोल पम्पमा पुगेका नयाँबानेश्वरका रमेश भट्टराईले प्रहरीका हाकिमको कुपन लिएर निजी कार र मोटरसाइकललाई तेल बाँडिए पनि आफू भने रित्तै फर्कनुपरेको गुनासो सुनाए । आफू निकै अप्ठेरो परेर पेट्रेल पम्पका इन्स्पेक्टरलाई गुहार्न पुगे पनि एकलिटर पनि पाउन नसकेको उनले बताए । ‘सोर्सफोर्स हुनेले मेरै अगाडि पेट्रोल र डिजेल हाले, तर मैले पनि एकलिटर मात्र दिन बिन्ती गर्दा पनि मानेनन् ।,’ उनले भने, ‘प्रहरीले नै यस्तो अन्याय गर्छ भने निजी पम्पबाट सर्वसाधारणले कसरी पेट्रोल र डिजेल पाउने ?’

देशमा विधिको शासन र शान्ति सुरक्षा कायम गर्ने प्रहरीबाटै भेदभाव र मनोमानी गरिनुले प्रहरी पेट्रोल पम्पमा पुग्ने सर्वसाधारण भने आक्रोशित हुने गरेका छन् ।

निकै कुशल प्रहरी अधिकृत मानिएका नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले पेट्रोल पम्पमा भइरहेको मनोमानीको छानबिन र निगरानी गर्नुपर्ने सर्वसाधारणको माग छ ।