२९ आश्विन २०८३, बिहिबार

एनआरएनलाई अब कता लैजाने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tenzi-Sherpa

१२ बर्ष भएछ, हामीले गैरआवासीय नेपालीहरुले एनआरएनको स्थापना गरेको । विश्वमा छरिएर रहेका लाखौं नेपालीहरुको साझा संस्था एनआरएनए (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को सातौँ विश्व सम्मेलन यही अक्टोबर १४ बाट काठमाडौंमा सम्पन्न हुँदैछ । थुप्रै आशा, अपेक्षा, योजना बोकेर गैरआवासीय दाजुभाइ, दिदीबहिनी अहिले मातृभूमिमा आउने क्रम सुरु भइसकेको छ । विगतका अनुभवको समीक्षा गर्दै यो विश्व सम्मेलनले एनआरएनलाई अझ, सवल, सुदृढ र परिस्कृत गर्नेछ ।

विगत निकै कठिन थिए । विदेशमा नेपालीका साझा संस्था थिएन । आफ्नै देशका दाजुभाइ पराइझैं थियौ, विदेशी माटोमा । सानो गाह्रोसाह्रो पर्दा पनि सहयोग लिन—दिन अति नै अप्ठेरो थियो, साँच्चै भन्ने हो भने डायस्पोरामा हामी छिन्नभिन्न थियौं । दक्षिण कोरियामा बस्ने म जस्ता प्रवासी र अमेरिका या युरोपको कुनै राष्ट्र वा खाडीमा बस्ने नेपालीबीच सम्पर्क/सम्बन्ध थिएन । तर, आज गर्वसाथ भन्नुपर्छ हामी छिनभरमै संसारका दर्जनौं राष्ट्रमा गैरआवासीय नेपाली संघको माध्यमबाट जोडिन सक्छौं । दशबर्षअघि हामीले सुरु गरेको यो अभियान आज विश्वका ७० वटा राष्ट्रमा फैलिनु आफैमा सुखद र उपलब्धिमुलक छ । गैरआवासीय नेपालीहरुले गरेको यो सञ्जाल निर्माणलाई राज्यले पनि गर्वका साथ स्वीकारेको छ ।

कोही व्यक्तिलाई नेता बनाउनेका लागि मात्रै एनआरएन स्थापना भएको होइन् । कतिपय देशमा देखिएको विभाजन र चुनावमा मुखमा सस्ता गतिविधिले हाम्रो संस्थाको छविलाई धुमिल्याउने काम मात्रै गरिरहेको छ । एनआरएनमा कुशल नेतृत्व आउन सक्यो भने मात्रै एनआरएन बलियो हुन्छ । 

सक्रिय सहभागिताबिनाका दुई बर्ष

मेरो कार्यकालकै अन्तमा एनआरएनले वैधानिकता पायो । अहिले आफ्नै भवन निर्माण प्रक्रिया पनि अघि बढेको छ । र, ठ्याक्कै दुइबर्ष भएछ, मैले एनआरएनको सक्रिय भूमिकाबाट बिदा लिएको । तर पनि यो अवधिमा कुनै न कुनै रुपमा म एनआरएन अभियानको सारथी बनिरहेँ । एनआरएन एनसीसीको नेतृत्वदेखि आइसीसीको महासचिवसम्म हुँदा मैले सँधै एनआरएनको छवि बचाउने काम गरेँ । यो वा त्यो नाममा एनआरएनलाई बदनामको भारी बोकाइएन ।
मेरा प्रत्यासी शेष घलेजी नेतृत्वमा आउनुभयो । यद्यपि उहाँलाई असहयोग हुने गरी यो कार्यकालमा मैले आफूलाई प्रस्तुत गरिन् । मलाई नेतृत्वमा आउन नदिनका लागि थुप्रै प्रचञ्च र काडेँतारहरु लगाइएका थिए, जसको प्रमाण अहिले पनि सुरक्षित नै छ । तर, मेरो प्रतिस्पर्धा व्यक्तिगत रुपमा शेषजीसँग थिएन्, व्यापारिक रुपमा मात्रै संस्थाको नेतृत्व लैजान खोज्नेहरुका विरुद्ध मेरो उम्मेदवारी थियो । एनआरएनका संस्थापकहरु वा अनवरत रुपमा संस्थामा लागेकाहरु नै नेतृत्वमा आउनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यही मान्यता बमोजिम मैले व्यक्तिगत रुपमा आफूलाई अध्यक्षको उम्मेदवारको रुपमा उभ्याएको थिएँ । हिजो मलाई रोक्न खोज्नेहरुले नै आज फेरि विधि र प्रक्रियालाई लत्याउन खोजेको भान हुन थालेको छ ।

Tenzi-Sherpa-Shesh-Ghale

शेष घलेजीको यो कार्यकालको व्यक्तिगत रुपमा म प्रशंसक हुँ । भलै उहाँका कार्यशैलीका विषयमा म टिप्पणी गर्न चाहन्न । भोलिका दिनमा उहाँले त्यसको समिक्षा गर्दै अघि बढ्नु नै हुनेछ भन्ने अपेक्षा छ । अग्रजहरुको साथ लिएर अघि बढ्दा नै उहाँलाई सहज हुन्छ । उहाँ एक्लै हिँडेर कहीँ पुगिन्न । तर, यो दुई बर्षे अवधिमा एनआरएनमा आएर उहाँले जति सिक्नुभयो अनि जे जति काम गर्नुभयो, त्यसबाट सन्तुष्ट हुन सक्ने ठाउँहरु भने प्रशस्तै छन् । उहाँको कार्यकालमा एनआरएनले अर्को उचाइ लिएको छ । तर, प्रश्न यहाँनिर हो कि, हिजो शेषजीलाई ल्याउनेहरु नै आज उहाँको विरोधमा छन् रे, उनीहरु अर्कै उम्मेद्वार पो खडा गर्दैछन् रे ।

हो, लडाईँ यहीँनिर हो । मैले शेषजीलाई समर्थन गर्न खोजेको होइन् । तर, शेषजीलाई ल्याउने र आज काम गर्न खोज्दा रोक्न खोज्नेहरुका विरुद्ध सबै सचेत हुन जरुरी छ । किनकी एनआरएन कसैको खल्तीको कम्पनी होइन् । लाखौँलाख हामी नेपालीहरुको प्रिय संगठनको ठेकेदार कुनै दुई–चार जना व्यक्ति हुनै सक्दैन । तसर्थ, एनआरएनलाई विधि र प्रक्रियामा चलाउन जरुरी छ । दशक भन्दा बढी समय एनआरएनका लागि खर्चेका अग्रजहरुलाई बाइपास गरेर एनआरएन चल्नै सक्दैन । किनकी हामीजस्ता औसत एनआरएनको छहारी सदैव बन्न जरुरी छ । अर्कोतर्फ, एनआरएन ठूला ठूला व्यापारीको मात्रै संगठन बन्ने कि औसत एनआरएनको पनि छहारी बन्ने भनेर गम्भीर छलफल गर्न जरुरी छ । व्यापारिक पृष्ठभूमिका बाहेक अन्य पेशा व्यवसायमा रहेका बौद्धिकवर्गलाई छेकबार लगाउने गलत प्रथा पनि हाबी हुँदै गएको हो कि भनेर चिन्ता बढ्न थालेको छ ।

प्रत्यक्ष निर्वाचन गर्ने कि ?

नयाँ संविधान बनिसकेको छ । लामो समयदेखि एनआरएनले उठाउँदै आएको नागरिकताको निरन्तरता, एकपटकको नेपाली सँधैको नेपाली भन्ने नारालाई भावनात्मक रुपमा नयाँ संविधानले सम्बोधन गरेको छ । जुन हामी सबैका लागि खुसीको कुरा हो । हामी सबैको मेहनत र परिश्रमबाट यो सम्भव भएको हो । नयाँ संविधानको कार्यान्वयनसँगै एनआरएनको भूमिकालाई पनि व्यवस्थित गर्दै लैजानुपर्ने देखिएको छ ।

अझ देशको विकासको साझेदार अनि पुनर्निमाणको पहरेदार भनेर नारा लगाइरहँदा अब एनआरएन प्रवासमा बस्ने सबै नेपालीको साझा संस्था बन्न जरुरी छ । संघका कतिपय अगुवाहरु अहिले असन्तुष्ट बनेर सम्पर्कविहीन अवस्थामा छन् । तर, अहिले संस्थाको नेतृत्व गर्नेहरुले यो सत्यलाई बिर्सन हुँदैन् । अर्कोतर्फ, ४० लाख नेपाली प्रवासमा रहे पनि आज एनआरएनको पञ्जीकृत सदस्य संख्या निकै नै कम छ । त्यसतर्फ पनि हामीले एकपटक सोच्न जरुरी छ ।

त्यतिमात्रै होइन्, एनआरएनको अन्तर्राष्ट्रिय महाधिवेशनलाई अहिले पनि दशैँ मान्न आउनेहरुको भेला भनेर टिप्पणी नेपालमै हुने गरेको छ । हो, दशैँ मनाउन आउनेहरु पनि केही गैरआवासीय नेपालीहरु होलान् । तर, यहाँ महाधिवेशनमा भाग लिएर आफ्ना परिवारसँग दशैँ मनाउन फेरि प्रवासमै फर्कने नेपालीहरु पनि कैयन छन् । मैले यहाँनिर उठाउन खोजेको चाँहि अब हामीले प्रत्यक्ष मतदानको व्यवस्था किन नगर्ने भन्ने हो ? नेपाल सरकारसँग आफ्नो बसोबास रहेकै देशमा संसदीय निर्वाचनको मतदानको व्यवस्था गरिदिन माग गरिरहेका बेला एनआरएनको केन्द्रीय महाधिवेशनको मतदान हामी बसेकै देशबाट किन नगर्ने ? राज्यसँग आफ्नै देशमा मतदानको व्यवस्था गर्न माग गर्ने तर आफ्नै महाधिवेशनमा चाँहि नेपालमै आएर हजारौँ डलर खर्चेर मतदान गर्दा हाम्रो दोहोरो चरित्रझैँ देखिएको छ । यदि देश–देशबाट प्रत्यक्ष निर्वाचन गर्ने हो भने एनआरएनको अन्तरराष्ट्रिय महाधिवेशनकै लागि नेपाल आउने खर्च र समय कटौती गर्न सकिन्छ । हाम्रो देशमा आउनका लागि हामीलाई कुनै बहानाको जरुरत त आवश्यक छैन् । तर, निर्वाचनकै लागि भनेर हुलका हुल बाँधेर आउँदा एकातिर करोडौँ रकम फजुल खर्च भइरहेको छ भने समयको बर्बादी पनि भइरहेको छ । त्यसकारण अब यसतर्फ पनि सोच्न जरुरी छ । एनआरएन स्थापनाकालमा महाधिवेशनका लागि सबै एकैठाउँमा भेला हुनै ठीकै थियो । किनकी त्यतिबेला अहिलेको जस्तो प्रविधि र संचारको विकास भइसकेको थिएन् । तर, अब संसारको जुनसुकै ठाउँमा बसेर हामीले एनआरएनको नेतृत्वका लागि मतदान गर्न सक्छौँ । त्यसको प्रविधि पनि विकास भइसकेको छ । यसतर्फ एनआरएनले सोच्न जरुरी छ ।

कस्लाई अध्यक्ष बनाउने ?

लाखौँ लाख नेपालीको नेता बन्ने चाहना सबैमा हुन्छ । तर, एनआरएन विशुद्ध गैरराजनीतिक एवं सामाजिक संस्था हो । यो संस्थाको नेतृत्व गर्न चाहना राख्नेहरुमा केही सामाजिक गुण र परिपक्वता पक्कै हुन जरुरी छ । कोही व्यक्तिलाई नेता बनाउनेका लागि मात्रै एनआरएन स्थापना भएको होइन् । कतिपय देशमा देखिएको विभाजन र चुनावमा मुखमा सस्ता गतिविधिले हाम्रो संस्थाको छविलाई धुमिल्याउने काम मात्रै गरिरहेको छ । यसतर्फ सबै महाधिवेशन प्रतिनिधि, अग्रज र संस्थापकहरुले सोच्न जरुरी छ । किनकी एनआरएन गैरआवासीय नेपालीहरुको देशप्रतिको माया र लगावको प्रतिबिम्ब हो । एनआरएनमा कुशल नेतृत्व आउन सक्यो भने मात्रै एनआरएन बलियो हुन्छ । एनआरएन बलियो भयो भने त्यसको लाभ नेपाल र नेपालीले पाउन सक्छ । गलत मानिसको हातमा एनआरएनको नेतृत्व पुग्यो भने न हाम्रो छवि बच्छ, न त मातृभूमिले नै केही पाउन सक्छ ।

लेखक एनआरएनका सल्लाहकार एवं निवर्तमान महासचिव हुन् ।