३० आश्विन २०८३, शुक्रबार

रसियालाई अमेरिका र टर्कीको चेतावनी, आक्रमण रोक्नुपर्ने नेटोको भनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-putin

ब्रसेल्स, १९ असोज । सिरियामा विगतका केही दिनदेखि जारी रहेको हवाई कारबाही तत्कालै रोक्न नेटोले रसियालाई आग्रह गरेको छ ।

नेटोले रसियालाई सो क्षेत्रमा गरेको कारबाही रोक्न भनेको प्राप्त समाचारमा जनाइएको छ । सो समाचारअनुसार हालै सुरु भएको सो कारबाही सर्वसाधारणमा लक्षित भएको नेटोले जनाएको छ ।

नेटोले रसियलाई सो कारबाही उसले सिरियाका विपक्षी विद्रोही तथा सर्वसधारण जनतामा मात्र केन्द्रित गरेको पाइएको भन्दै सो कारबाहीलाई इस्लामिक स्टेटका विरुद्धमा केन्द्रित गर्न पनि आग्रह गरेको बताइएको छ ।

नेटोको उत्तर एटलान्टिक परिषदको बैठक मङ्गलबार बसेको र सोही बैठकले रसियाली सरकारका नाममा सो आग्रह गरेको नेटोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ– उक्त कारबाही सर्वसाधारणमा केन्द्रित छ र अर्काेतर्फ यसले सिरियाली राष्ट्रपति बसार अल असादका विरुद्धमा सिरियामा जारी राखिएको विद्रोहका लडाकूलाई खोजी खोजी मारेको छ ।

सिरियामा आइएसका विरुद्धमा भन्दै गएको केही दिनदेखि सो कारबाही रसियाली युद्धक विमानहरुले जारी राखेका छन् । तर सो कारबाही पछिल्लो समयमा आएर भने विवादमा परेको समाचारमा जनाइएको छ ।

अमेरिकाले सीआईएले बनाएका तथा तालिम दिलाइएका सिरियाली विद्रोहीलाई आक्रमण गरेको आरोप रसियामाथि लगाएको छ भने रसिया र सिरियाले सो भनाईको खण्डन गरेका छन् ।

अमेरिकी र संयुक्त सेनासँग टर्कीमा तालिमप्राप्त गरेका कैयौं लडाकूलाई आइएसका विरुद्धको कारबाहीका लागि उत्तरी सिरियामा हालैमात्र पठाइएको जनाइएको थियो । तिनै लडाकूलाई रसियाली युद्धक विमानले तारो बनाएको अमेरिकाको भनाई छ ।

एकजना अमेरिकी सिनेटर जोन म्याकाइनले त रसियाको सुरुवाती आक्रमण निशानामा अमेरिकी गुप्तचर संस्था सीआईएद्वारा प्रशिक्षित व्यक्ति तथा समूह परेको भन्दै यसका लागि अमेरिकाले रसियालाई कडा रुपमा भन्नुपर्ने भन्नुभएको थियो ।

रसियाली सेनाले गएको बुधबारदेखि सिरियामा हमला गरिरहेको छ । सिरियाको होम्स सहरमा सो सेनाले आक्रमण गरेको छ । सो आक्रमणमा परी ५० जनाभन्दा बढीको ज्यान गएको पनि बताइएको छ ।

उक्त परिषद नेटोको नीति निर्माण गर्ने निकाय हो । सो निकायको मङ्गलबार सम्पन्न बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

सो विज्ञप्तिमा भनिएको छ– रसियाले सिरियाका होम्स, हामा, इद्लिबमा जारी राखेको कारबाही सर्वसाधारणमा मात्र लक्षित भयो र यसबाट भएको क्षतिको विवरण हेर्दा पनि यो स्पष्ट हुन्छ ।

ती सहरहरुमा रसियाली सेनाले गरेको कारबाहीमा मारिएका व्यक्तिको सङ्ख्या हेर्दा सर्वसाधारण नै बढी मारिएका छन् ।

रसियाली विमानहरुले सिरियाको दक्षिण पश्चिमी सीमा क्षेत्रमा रहेको टर्कीको आकासमा पनि विमान उडाएका र यसबाट टर्कीको उडान अनुमति पनि नलिइ यसको उल्लङ्घन गरेको पनि नेटोले जनाएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो ।

सन् २०११ देखिहालसम्म यस आन्दोलनमा परी २ लाख ४० हाजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । अहिले पनि सिरियामा गृहयुद्ध जारी नै छ ।

यस आन्दोलनको कारण लाखौं व्यक्ति घाइते भएका छन् भने लाखाँै व्यक्ति देश भित्र र छिमेकी देशमा शरणार्थी बन्न पुगेका छन् ।

पछिल्लो समयमा सिरियामा पनि आइएसको आक्रमण बढ्न थालेको हो । सो आक्रमणका विरुद्धमा अमेरिकी नेतृत्वमा केही विदेशी सेनाले सिरियामा कारबाही गर्दै आएको छ ।

सो कारबाहीमा ऐक्यबद्धता स्वरुप नै रसियाली सेनाले पनि आक्रमण गरेको बताइएको थियो । तर उसको आक्रमण सिरियाली सरकारको पक्षमा नै भएको भन्दै अमेरिकाले रसियाली सेनासँग सहकार्य नगर्ने बताएको छ ।

रसियालाई टर्कीको चेतावनी

यसैबीच छिमेकी टर्कीले अनुमति बिना नै आफ्नो दक्षिण पश्चिमी आकासमा रसियाले युद्धक विमान उडाएको भन्दै यदि यो कार्य नरोकिएमा यसका विरुद्ध आपूmले कडाभन्दा कडा कारबाही थाल्ने चेतावनी दिएको छ ।

गएको शनिबार पनि सो विमान टर्कीको आकासमा आएपछि टर्कीले रोकिदिएको थियो । उसले आफ्नो अनुमति नलिइकनै रसियाले टर्कीको आकासमा सोमबार पनि युद्धक विमान उडाएको भन्दै तत्कालै यस्तो कार्य रोक्न भनेको छ ।

टर्कीमा रहेका रसियाली राजदूतलाई सो विरोध पत्र दिएर टर्कीले रसियाको उक्त कदमको निन्दा गरेको पनि विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

शनिबारको सो उडान उल्लङ्घनका विरुद्धमा कडा वक्तव्य जारी गरेको टर्कीले पुनः सोमबार पनि रसियाली विमानले सो कार्य दोहो¥याएको भन्दै यसका विरुद्धमा मङ्गलबार पनि कडा चेतावनी दिएको बताइएको छ ।

यस्ता क्रियाकलापहरु अब फेरि नदोहो¥याउन चेतावानी दिँदै टर्कीले अन्यथा आगामी दिनमा हुनसक्ने दुर्घटनाका लागि रसिया नै जिम्मेवार हुनुपर्नेमा पनि जोड दिएको छ ।

टर्कीले शनिबार र आइतबारका ती रसियाली विमानहरुलाई भने आकासमै राकिदिएको थियो । यस विषयमा रसियाको भने कुनै प्रतिक्रिया आएको छैन । रासस÷एएफपी