काठमाडौं, १९ असोज । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफूहरुले राखेका माग सबै पूरा भएपनि हाल बन्ने तयारीमा रहेको नयाँ सरकारमा सहभागी नहुने भएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार सरकारमा गएर मधेसी जनताको भावनासँग खेलवाड गर्न नहुने बताउनुहुन्छ । ‘हामी मधेसी जनताको अधिकारका लागि लडीरहेका छौँ’, उहाँले भन्नुभयो, ‘अधिकारको लडाइँमा सरकारमा जाने भन्ने कुरै आउँदैन ।’ आज (मंगलबार) बिहान दैनिक नेपालसँग कुरा गर्दै उहाँले सकेसम्म मैदानमा बसेर अधिकारका लागि लड्न उल्लेख गर्नुभयो ।
मधेसी मोर्चाका बैठकहरुमा पनि तत्काल सरकारमा जान नहुने कुरा जोडदार रुपमा उठ्ने गरेको महासचिव सुमनले बताउनुभयो । उहाँले कुनै नेता वा व्यक्तिमा सरकारको मोह जाग्नु कुनै ठूलो कुरा नहुनेभन्दै अहिलेसम्म मधेसी मोर्चा सरकारमा नजाने भनेर एकढिक्का रहेको दाबी गर्नुभयो ।
एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्दै गरेको विषयमा सोधिएको जिज्ञासामा महासचिव सुमनले भन्नुभयो, ‘सरकार बनाउने विषय उहाँहरुको हो । हामी आन्दोलनमा छौँ । हामीले आन्दोलनभन्दा अरु केही सोँचेका छैनौँ ।’
मधेसी मोर्चाका केही नेताहरुले सरकारमा जान खुट्टा उचालेर बसेका छन् रे हो ? भन्ने जिज्ञासामा सुमनले भन्नुभयो, ‘व्यक्तिको पछाडि म लागेको छैन । मधेसी मोर्चा अब बन्ने नयाँ सरकारमा जाँदैन । मैले बुझेको त्यही हो ।’
सरकारी पक्षसँगको वार्ता र सम्वाद अनौपचारिक रुपमा शीर्ष नेतृत्व तहमा विभिन्न सुत्रमार्फत भइरहेको बताउनुभएका सुमनले सहमति हुनेमा आफू आशावादी रहेको बताउनुभयो । ‘हाम्रा माग सबै पूरा हुने खालका छन्’, उहाँले भन्नुभयो, ‘सिमाङ्कनका विषयमा ठूला दलहरुले चासो देखाएका छैनन् । त्यो विषयलाई हामीले महत्वका साथ उठाएका छौँ ।’
मधेसी मोर्चामा उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल, महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी र महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टी आबद्ध छन् ।
















प्रतिक्रिया