३० आश्विन २०८३, शुक्रबार

एएफसी च्याम्पियनसिप : भोलि नेपालले जोर्डनको सामना गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U-19Nepali-football-playersकाठमाडौँ, १८ असोज । एसियाली फुटबल महासङ्घ (एएफसी)को आयोजनामा भइरहेको एएफसी १९ वर्षमुनि च्याम्पियनसिप छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल जोर्डनसँग खेल्दै छ ।

इरानको मसाद सहरस्थित सामेन अल एम रङ्गशालामा हुने सो प्रतियोगितामा नेपाली युवा टोलीले भोलि साँझ ६ः१५ बजे समूह चरणको अन्तिम खेलमा जोर्डनको सामना गर्नेछ । प्रतियोगितामा नेपालको अघिल्लो चरणको प्रवेशको सम्भावना भने न्यून हँुदै गएको छ ।

जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेल बराबरी खेलेको छ । नेपालले पहिलो खेलमा आयोजक इरानसँग ०–१० को अप्रत्याशित हार बेहोरेका कारण नेपालको आगामी वर्ष बहराइनमा हुने यु–१९ एएफसी च्याम्पियनसिप खेल्ने सम्भावना कम भएको हो ।

त्यस्तै, कुबेतसँगको दोस्रो खेल १–१ को गोलको बराबरीमा टुङ्गिएको थियो । नेपालले प्रतियोगितामा जम्मा एक गोल मात्रै गरेको छ । नेपालका लागि विमल घर्तीमगरले कुवेत विरुद्वको खेलमा गोल गरेका थिए ।

प्रतियोगितामा जोर्डनले भने त्यति उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । प्रतियोगितामा दुई खेल खेलेको जोर्डनले दुवै खेलमा हार बेहोरेको छ । समूह ‘ई’ अन्तर्गत चार टोली सम्मिलित उक्त प्रतियोगितामा नेपाल एक अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने आयोजक इरान शीर्ष ६ अङ्क जोड्दै लिगको पहिलो स्थानमा छ ।

त्यसैगरी, कुवेत चार अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने जोर्डन लिगको अन्तिम स्थानमा छ । एसियाका राष्ट्रलाई विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूहको विजेता, उपविजेतामध्ये शीर्ष पाँचभित्र पर्ने टोली र आयोजक बहराइन गरी १६ टोलीले आगामी वर्ष बहराइनमा हुने एएफसी च्याम्पियनसिप खेल्न पाउनेछन् । रासस