३० आश्विन २०८३, शुक्रबार

एनआरएनको महासचिवमा यसकारण मेरो उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– पुष्पराज तिमिल्सिना

गैरआवासीय नेपाली संघ एनआरएनएको स्थापनाको १२ वर्षपछि पुनः हामी सातौं महाधिवेशनको संघारमा आइपुगेका छौं । यही अक्टोबरमा नयाँ नेतृत्त्व का लागि काठमाडौमा पुनः महाधिवेशन सम्पन्न हुँदैछ । विश्वभरि फैलिएका हामी नेपालीहरुको साझा र स्वतन्त्र संगठन एनआरएनए विभिन्न कठिनाई र चुनौतिहरु झेल्दै आशा र भरोसाको केन्द्रका रुपमा स्थापित बन्ने क्रममा छ । मुलुक विगतको महाभूकम्पका कारणले पुनःसंरचना मात्र नभई पुनर्निर्माण एवम् पुनर्संरचनाको चरणमा प्रवेश भैरहेको परिवेशमा सम्पन्न हुन गइरहेको यो महाधिवेशनले निश्चय पनि महत्वपूर्ण निर्णयहरु पारित गर्नुपर्नेछ । गैरआवासीय नेपालीहरुको संस्थागत हित तथा प्रवर्द्धन मात्र नभई उनीहरुले स्वदेशमा गर्ने लगानी र त्यसका निम्ति विदेशबाट भित्र्याउन सकिने अनुभव र सीप प्रयोगको सन्दर्भ पनि एउटा महत्वपूर्ण मुद्धा बन्नुपर्छ । त्यसका निम्ति सबैको महत्वपूर्ण सुझाव र सहयोगको अपेक्षा गर्न चाहन्छु ।

एनआरएनए अभियान मात्रै नभएर एउटा एकतावद्ध र सुसंगठित प्रयास पनि हो । यसलाई संगठित र व्यवस्थित गर्ने पहिलो पुस्ताको प्रतिनिधि भएको नाताले मैले आफूमा गहन जिम्मेवारी आएको महसुस पनि गरेको छु । मुलुक एउटा नवनिर्माणको चरणमा भएको हुनाले राष्ट्र रुपान्तरणको प्रक्रियामा आफूलाई अझ स्पातिलो हिसाबले सक्रिय र अग्र मोर्चामा अगाडि बढाउन चाहन्छु । एनआरएनएको स्वच्छता, पवित्रता एवम् गरिमालाई कायम राख्दै अझ बढी सक्रियतापूर्वक व्यवस्थित संगठनात्मक सञ्जाल निर्माण गर्न म आगामी महाधिवेशनमा महासचिव पदको लागि आफ्नो उम्मेदवारी दिने घोषणा यहाँहरु सामु गर्न चाहन्छु ।

puspa-timilsina

खासगरी यूरोपमा एनआरएनएलाई संगठित र व्यवस्थित गर्न मैले जगदेखि नै निरन्तर योगदान पुर्याउँदै आएको कुरा अवगत नै छ । कर्मथलोको रुपमा मैले स्पेनको बार्सिलोनालाई बनाउँदै सन् २००७ देखि नै प्रवासी नेपालीहरुको हित र एकताका निम्ति निरन्तर संगठनको काम गर्दै आइरहेको छु । सन् २००९ मा एनआरएनए स्पेनको निर्वाचन संयोजक भइ कार्यसमितिलाई निर्विरोध निर्वाचित गराउन सफल भएको थिएँ । त्यससँगै सन् २०११ देखि स्पेनको अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्विरोध सदस्य तथा हाल २०१३ देखि केन्द्रीय सल्लाहकारको जिम्मेवारी सम्हाल्दै एनआरएनएलाई संगठित र व्यस्थित बनाउन समन्वयकर्ताको भूमिका निर्वाह गर्दै आएको छु । अघिल्लो महाधिवेशनमा सचिव पदमा प्राविधिक हिसाबले थोरै मतले पराजित भए पनि संगठनको वृहत्तर एकता र हितसंगै यस अभियानलाई अगाडि बढाउन कुनै कसर बाँकी राखेको छैन ।

व्यावसायिक रुपमा स्पेनिससंगको संयुक्त लगानीमा भेरासोल हाउजिङ कम्पनी प्रालि पोखरा, बुद्ध पावर एण्ड मील प्रालि, धवलागिरी कालिका हाइड्रो कम्पनी तथा प्रवासी ट्रेडिङ कम्पनी प्रालि र नेपाली व्यवसायीहरुको साथमा ओला नेपाल रेष्टुरेन्ट तथा ग्रासीया सुपर मार्केट बार्सिलोनासंग आबद्ध छु । त्यस्तैगरी विदेशी संयुक्त लगानीमा संचालित प्रस्तावित पुरा हाइड्रो पावर कम्पनी पनि संचालनको क्रममा रहेको छ ।

मेरो उम्मेदवारी किन ?

१) गैरआवासीय नेपाली संघले गरेका क्रियाकलापहरुको निरन्तरता एवम् सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्न ।

२) विगतको विनाशकारी महाभूकम्पबाट क्षतविक्षत हाम्रो देश नेपालको पुनर्निर्माणका लागि एनआरएनद्धारा यथाशीघ्र थालिने पुनर्निर्माणका कार्यहरुको प्रभावकारी रुपमा संचालन र सम्पन्न गर्न सक्रिय पहल गर्न ।

३) गैरआवासीय नेपाली अभियानलाई सशक्त एवम् व्यवस्थित ढंगले संगठित गर्दै यसको सांगठनिक सञ्जाललाई अझ समय सापेक्ष, मजबुत र व्यवस्थित गर्न ।

४) नेपालमा वैदेशिक तथा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउन पहल गर्न ।

५) गैरआवासीय नेपालीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा आर्जन गरेको अनुभव, सीप र दक्षताको सदुपयोगका लागि पहल गर्न ।

६) वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित तुल्याउन नीतिगत रुपमा नेपाल सरकारसंग निरन्तर पहल गर्न ।

७) गैरआवासीय नेपाली संघको माध्यमबाट गैरआवासीयहरुले गरिरहेको सामाजिक लोक कल्याणकारी तथा परोपकारी क्रियाकलालाई थप प्रभावकारी रुपमा संचार गर्दै त्यस गतिशिलताका निम्ति पहल गर्न ।

८) गैरआवासीय नेपाली संघलाई गैरराजनैतिक ढंगले संचालन गर्न ।

९) लगानीमैत्री वातावरण सिर्जना गर्दै एनआरएनको समन्वयमा सामूहिक लगानीमार्फत देश विकासका क्षेत्रमा प्रभावकारी योजना अगाडि बढाउन ।

१०) अपार प्राकृतिक तथा साँस्कृतिक सम्पदाको धनी हाम्रो देश नेपालको परिचयलाई विश्वसामु स्थापित गर्दै संस्कृति, पर्यटन, भाषा, साहित्य लगायतका क्षेत्रमा नेपालको ख्यातिलाई प्रभावकारी रुपमा प्रवर्द्धन गर्न ।

११) देशको वैदेशिक रोजगार सम्बन्धि स्पष्ट नीति निर्माण गर्नका लागि यस क्षेत्रसंग सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गर्न ।

पुष्पराज तिमिल्सिना

महासचिव पदका उम्मेदवार
गैर आवासीय नेपाली संघ
हालः बार्सिलोना, स्पेन ।