साउदी अरब । साउदी अरेबियाको मक्कामा भागदौड मच्चिदा ज्यान गुमाएका तीन नेपाली हजयात्रीको हालसम्म पनि साउदी सरकारले पुष्टि गरेको छैन ।
साउदी सरकारले भागदौडमा परी ज्यान गुमाएका अन्य देशका नागरिकको पुष्टि गरे पनि नेपाली नागरिकको पुष्टि नगरेको हज कमिटीका केन्द्रीय अध्यक्ष ताज मोहम्मद मियाँले जानकारी दिनुभयो ।
“घटना भएको एक साता बढी भइसक्दा पनि साउदी सरकारले उक्त घटनामा परी ज्यान गुमाएका नेपाली नागरिकको पुष्टि नगर्दा हामीलाई दुःख लागेको छ”– उहाँले भन्नुभयो । मियाँका अनुसार हजका लागि मक्का आएकामध्ये पाँच नेपालीको मृत्यु भइसकेको छ ।
जसमध्ये तीन जनाको भागदौडमा च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको होटलमा र अर्का एकजना हजयात्रीको सुतिरहेको अवस्थामा क्याम्पमै मृत्यु भएको हो ।
यस्तै भागदौडमा परी घाइते भएका बाराका ५५ वर्षीय आस्मा खातुनको जेद्धास्थित अस्पतालमा उपचार भइरहेको अध्यक्ष मियाँले जानकारी दिनुभयो । साउदी सरकारले मृत्यु हुनेको सानो सङ्ख्या सार्वजनिक गरेपनि तीन हजारभन्दा बढी हजयात्रीको मृत्यु भएको मियांँले दाबी गर्नु भयो ।
मृत्यु भएका नेपाली हजयात्रीको शव पहिचान र पुष्टिमा भएको ढिलाइका विषयमा हज मन्त्रालय साउदीका अधिकारीलाई जानकारी गराइएको साउदीका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले बताउनुभयो ।
हजका क्रममा सैतानलाई ढुङ्गा हान्ने धार्मिक कार्यमा अचानक भागदौड मच्चिदा गत बुधबार राति ७१७ हजयात्रीको मृत्यु भएको थियो, भने घाइते भएका थप ५२ जनाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् ।
भागदौडमा परी हालसम्म ७६९ हजयात्रीले ज्यान गुमाएको साउदी सरकारले पुष्टी गरेको छ । यस्तै घाइते हुनेहरुको सङ्ख्या यसअघि ८०५ भनिए पनि घाइतेको सङ्ख्या बढेर ९३४ पुगेको अधिकारीले पुष्टि गरेका छन् ।
यो वर्ष नेपालबाट एक हजार २१ जना हज गर्न साउदीको मक्का आएका छन् । विश्वका मुस्लिम समुदायको सबैभन्दा ठूलो पवित्र तीर्थस्थलका रुपमा रहेको उक्त स्थानमा हज गर्न यस वर्ष २० लाखभन्दा बढी मुस्लिम समुदायका मानिस सहभागी थिए । रासस
















प्रतिक्रिया