नेपालमा संविधान घोषणा भएको सुखद समाचारले प्रवासमा रहेका हरेक नेपालीले खुशियाली मनाईरहेका छन् । हर्साेल्लास गरिरहेका छन् । प्रजातन्त्रमा विश्वास गर्ने हरेक मानिसलाई यो सुखद समाचार हो । किनभने जनताद्वारा प्रत्यक्ष निर्वाचित र समानुपातिक मनोनित जनप्रतिनिधिहरुले यो संविधान लेखेका हुन् । संविधानसभाका नब्बे प्रतिशत जनप्रतिनिधिहरुले यो संविधानका पक्षमा मतदान गरेका थिए ।
नेपाली जनताले संविधान सभाबाट संविधान लेखिनु पर्छ भनेर बर्षौं देखि लडाई लड्दै आएको कुरा जग जाहेर छ ।
यो वीचमा हाम्रो समय मात्र बर्बाद भएन थुप्रै सम्पत्ति पनि सकिएको छ । र, नेपाली आमाका हजारौं छोराछोरीले शाहदत प्राप्त गरेका छन् । ठूलो त्याग र बलिदानबाट आएको यो संविधानलाई स्वागत गर्नु र खुशियाली मनाउनु हरेक नेपालीको कर्तव्य हो ।
ठिक यहि समयमा मधेस र थारुहरुका असन्तुष्टिले हाम्रो ध्यान आकर्षित गरेको छ । साथसाथै मित्र राष्ट्र भारतले दिएको भनिएको सुझावले हामी धेरैलाई खिन्नता महशुस गराएको छ ।
यसलाई हामीले हाम्रो सार्बभौमिकता माथिको प्रहारको रुपमा लिएका छौँ । सबैले दिमागमा राख्नु पर्ने कुरा के हो भने नेपाल र नेपाली सधै स्वतन्त्र छौं । आफ्नो बारेमा निर्णय लिने आधिकार हाम्रै हो ।
हरेक कुरालाई हेर्ने दुईवटा दृष्टिकोण हुन सक्छ । वर्तमान संविधानलाइ कसैले अति राम्रो र कसैले अति नराम्रो देख्न सक्छ । त्यो ठुलो कुरा होइन । त्यसैलाई लिएर केहि समस्या हुनु दुःखद कुरा हो । समस्या समाधानको लागि छलफल, सम्बाद र वार्ता हुनु जरुरी छ । बिरोधी स्वरलाई सुन्न सक्ने हो भने धेरै कुराको समाधान निकाल्न सकिन्छ । कतिपय नेताका बिगत संकास्पद छन् त्यसैले जनताले विश्वास गर्न सक्दैनन् । एउटा राम्रो र कुशल नेता वा मध्यस्थकर्ताको खाँचो अहिले टड्कारो बनेको छ ।
त्यसो हो भने यो गहन जिम्मेवारी कसले बहन गर्न सक्छ त रु मेरो दिमागमा आएको पहिलो नाम एनआरएन नै हो । एक पटकको नेपाली सधैको नेपाली भन्ने त एनआरएनको नारा नै छ । नाराले भन्दैन की हामी कुनै सम्प्रदायका छुट्टै हौँ । एनआरएनहरुको दिमागमा झट्ट आउने कुरा भनेको हामी नेपाली हो । र नेपाललाई अप्ठेरो पर्दा सधै हाजिर भएको बिगत पनि हाम्रा सामु छ ।
सन् २००३ मा देशमा असुरक्षा हुदा र कोहि पनि नेपाल जान नचाहदा संसारभरका नेपाली नेपालमा गएर संस्थाको शुरुवात गरायौं र संदेश दियौं कि ‘जतिसुकै असुरक्षा भएपनि हामी नेपालमा आउन सक्छौं, नेपाल दुख्दा अरुलाई नदुखेपनि हामीलाई पक्कै दुख्छ ।’
यसैगरी तत्कालिन राजा ज्ञानेन्द्रले कु गरेर सत्ता हातमा लिदा र जनताका नेताहरुलाई जेलमा हाल्दा देशमा पुरै कर्फ्यु थियो । त्यो बेलामा पनि एनआरएनले संसारभर शान्तिपूर्ण मार्च पास गरेर राजाको कदमको बिरोधमा आवाज उठाएको थियो । संयुक्त राष्ट्र संघको मुख्यालय र व्हाईट हाउसमा ज्ञापन पत्र बुझाएको थियो । त्यो बेला पनि त्यस्तै संदेश दिएका थियौं कि नेपाली दाजुभाई, दिदीबहिनीसंग हामी पनि संगै छौं ।
जब महाविनाशकारी भूकम्प आयो तब पहिले एनआरएनहरुलाई नै दुख्यो । त्यो बेला पनि मानवीय सहायता लिएर नेपाल पुग्नेमा एनआरएनहरु नै रहे । जान नसक्नेले आफू बसेको ठाउँबाट सक्दो सहयोग नेपाल पठाएका थिए । एनआरएनहरुको उक्त कार्यको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
एनआरएनको यो यात्रामा नेपालका हरेक वर्ग, तह र तप्काका मान्छेहरुको सहभागिता छ । यसको ज्वलन्त उदाहरण यसको नेतृत्व हेरेर पनि थाहा हुन्छ । मधेशी, पहाडी, दलित र जनजाति सबैको संलग्नता छ । यी सबै नेताहरु अति सक्षम र कुशल छन् । र नेपालका प्रमुख पार्टीहरु र सामाजिक नेताहरुसंग चिनिएका पनि छन् ।
मेरो व्यक्तिगत विचारमा यो सहि समय हो नेपाललाई सहयोग गर्ने ्र यस्तो बेलामा एनआरएन सबै अंगहरु क्रियाशील भएर नेपालको बर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ भनेर आपतकालीन छलफल गर्न जरुरी भएको छ । हामीले हाम्रो भूमिका देखाउनुपर्छ । यो बेलामा देशको समस्या समाधान गर्न हामीले आफ्नो बल, बुद्धि र समय खर्च गर्नुपर्छ । एउटा राम्रो मध्यस्थताको भूमिका निभाउनु पर्छ ।
आगामी अक्टोबरमा एनआरएनको विश्व सम्मेलन हुदैछ । हामीले उक्त भेला र मंचलाई यो बिषयमा छलफलका लागि सदुपयोग गर्न सक्छौं र एउटा सर्बमान्य समिति गठन गर्न सक्छौं । एनआरएनको मुख्य उद्देश्य भनेको नेपाललाई समस्या पर्दा सहयोग गर्नु हो । दोस्रो कुरा जब नेपालका दुई पक्षवीचको असमझदारी बढेको र एकले अर्कोलाई विश्वास गर्ने वातावरण नबनिसकेको स्थितिमा तेस्रो पक्षको सख्त आवश्यकता परेको कुरा सहजै बुझ्न सकिन्छ । त्यो तेश्रो पक्ष भनेको अर्को देश, अर्को कुनै संस्था वा अर्को कुनै समूह हो । त्यसो हो भने एनआरएन भन्दा अर्को त्यस्तो कुन शक्ति हुन सक्दछ ?
बिगतमा अरु शक्तिहरुले चलखेल गर्ने मौका पाए । भारत पनि त्यस्तै एउटा शक्ति हो जसले नेपालको आन्तरिक मामलामा पटक पटक खेल्ने अवसर पायो । अझै पनि त्यही भूमिका खोज्दै छ । त्यही भूमिका नपाएकै कारण अहिले यो स्थिति आएको हो । त्यसैले अब हामीले अरु शक्तिहरुलाई हाम्रो आन्तरिक मामलामा खेल्ने मौका दिनु हुदैन भन्ने मेरो मान्यता हो । त्यसकालागि हामी आफैले हाम्रो समस्या समाधान गर्ने हिम्मत गर्नुपर्छ । साथै त्यो भूमिका एनआरएनले खेल्नु पर्दछ ।
म एनआरएनका केन्द्रिय अध्यक्ष शेष घलेलाई यो गहन जिम्मेवारी लिने हिम्मत गर्न अनुरोध गर्दछु र मध्यस्थकर्ताको भूमिका लिन एनआरएनलाई बिशेष आग्रह गर्दछु । साथै मेरा सबै साथीभाईहरुलाई यो विषयको गम्भीरतालाई बुझेर नेतृत्वलार्इ घच्घचाउन र मनाउने काममा सहयोग गर्नुहुन हार्दिक आव्हान गर्दछु । हाम्रो घरको समस्या हामी आफै समाधान गरौँ । कुनै बाहिरी शक्तिलाई खेल्ने अवसर प्रदान नगरौं ।
(डा श्याम कार्की एनआरएनको संस्थापक उपाध्यक्ष हुन।)















प्रतिक्रिया