काठमाडौँ, १५ असोज । उन्नाइस वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली युवा टोलीले आज आयोजक इरानको सामना गर्ने भएको छ ।
इरानस्थित मसाद सहरको समेन अल एम रङ्गशालामा आज राति ९ः१५ बजे समूह ‘इ’ मा रहेको नेपालले उच्च मनोबलका साथ घरेलु टोली इरानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।
नेपाली युवा टोलीले गत भदौ महिनामा काठमाडौँमा संचालन भएको पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो । त्यस्तै, समूह ‘इ’का अन्य टोलीमा जोर्डन र कुवेत छन् ।

उक्त प्रतियोगितामा नेपाल छनोट भए आगामी वर्ष बहराइनमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिता खेल्न पाउनेछ । विभिन्न १० समूहमा विभाजन गरिएको उक्त छनोट प्रतियोगितामा छनोट हुने १६ टोलीले एएफसी च्याम्पियनसिप खेल्न पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको शिर्ष चारभित्र पर्ने टोलीले भने सन् २०१७ मा दक्षिण कोरियामा हुने २० वर्ष मुनिको फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।
विमल घर्तीको कप्तानीमा रहेको नेपाली टोलीको गोलकिपरमा सुजित गुरुङ, रमन रसाइली र देबराज लिम्बु छन् । त्यसैगरी, डिफेन्डरमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, सिद्वार्थ रन्जीत, दिनेश राजबंशी र सुदन थापा छन् । मिडफिल्डमा हेमन्त थापामगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनुवार, विश्वास श्रेष्ठ र सुसन लामा छन् भने फरवार्डमा सुनिल बाल, अन्जन विष्ट, शिव सुवेदी र जानोममान लिगल रहेका छन् । रासस















प्रतिक्रिया