देश सञ्चालनको जिम्मेवारी बोकेका नेताहरू शारीरिक र मानसिक दृष्टिले स्वस्थ हुनुपर्ने हो। उनीहरू बिरामी र अशक्त भइदिँदा उनीहरूबाट जनताले माग गर्ने सक्रियतामा प्रतिकूल प्रभाव पर्छ। फलतः राजनीतिक परिदृश्य पनि चुस्त हुन सक्दैन।
प्रधानमन्त्री सुशील कोइराला बिरामी छन्। उनका सत्ता साझेदार दलका नेता केपी शर्मा ओली ‘गम्भीर’ बिरामी छन्। ढल्किँदो उमेरका अधिकांश शीर्ष नेतालाई कुनै न कुनै रोगले गाँजेको छ। हामी जनताको समृद्धि र सुस्वास्थ्यको उत्तरदायित्व बोकेका हाम्रा नेताहरूको स्वास्थ्य स्थिति चाहिँ कस्तो छ?
सुशील कोइराला, प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालालाई जिब्रोको क्यान्सर छ। विगतमा चुरोट, पान, गुट्का खाएका कारण आफुलाई क्यान्सर भएको कोइराला आफैँले स्वीकार गरिसकेका छन्। ०६२/६३ को जनआन्दोलनका क्रममा सेनाको गाडीले ठक्कर दिएपछि उपचारका लागि अस्पताल भर्ना हुँदा कोइरालाको जिब्रोमा क्यान्सर देखिएको थियो। त्यसलगत्तै उनले न्युयोर्कस्थित क्यान्सर सेन्टर पुगेर जिब्रोको शल्यक्रिया गराएका थिए। अमेरिकामा क्यान्सरको उपचार गराउँदै आएका कोइरालालाई पछिल्लो समय फोक्सोमा समेत समस्या देखिएको छ।
पछिल्लो समय लगातार ज्वरो र खोकीपछि फोक्सोमा देखिएको दाग क्यान्सर हुनसक्ने आशंकासहित कोइराला सोमवार थप उपचारका लागि अमेरिका गएका छन्। न्युयोर्कको स्लोन मेमोरियल केटरिङ क्यान्सर सेन्टरमा उनको स्वास्थ्य परीक्षण हुनेछ।
निजी चिकित्सक करवीरनाथ योगीले कोइरालाकोे पछिल्लो स्वास्थ्य परीक्षणअनुसार फोक्सोमा दाग देखिएको बताएका छन्। छातीको सीटी स्क्यानमा भिन्न प्रकृतिको सेतो दाग देखिएकाले रेडियोलोजिस्टहरूको रायलाई मध्यनजर गर्दै दागको एफएनएसी, बायोप्सी र पीइटी स्क्यान जस्ता आधुनिक परीक्षण गर्न लागिएको योगीले जनाएका छन्। बेला–बेला निमोनियाले पनि उनलाई सताउने गरेको छ। उनले चिसोबाट जोगिनुपर्छ भने पहिलेदेखि नै ब्रोङ्काइटिसका औषधि नियमित सेवन गर्दै आएका छन्। दा“त र जिब्रो दुवैमा समस्या देखिएपछि उनलाई सारो खानेकुरा खान हुँदैन।
केपी ओली, संसदीय दलका नेता, नेकपा एमाले
दुवै मिर्गौलाले काम नगरेपछि एमाले संसदीय दलका नेता केपी ओलीले मिर्गाैला प्रत्यारोपण गरेका छन्। स्यालुलाइटिस भनिने छालाको संक्रमण र पछिल्लो समय सेवन गरिरहेका विभिन्न औषधिका कारण सुगरको मात्रा बढेर उनको हात समेत सुन्निएको छ। सात वर्षअघि भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता उनले नियमित रूपमा अपोलो गएर स्वास्थ्य परीक्षण गराउँदै आएका थिए। पछिल्लोचोटि हात सुन्निँदा पनि विस्तृत परीक्षण नगराई युरिक एसिडकै औषधिको भर पर्दा समस्या बल्झेको थियो। केही समयअघि अस्पताल भर्ना हुँदा उनको रगतमा चिनीको मात्रा पाँच सय नाघेको थियो। हेमोग्लोबिन एकदमै कम भइसकेको थियो।
मिर्गौला प्रत्यारोपणपछि सेवन गरिरहेका विभिन्न औषधि (शरीरलाई शक्ति दिने स्टोरोयडसहित)का साथै उनी सुगर, पायल्स र उच्च रक्तचापको औषधिसमेत नियमित खाइरहेका छन्। मिर्गौला प्रत्यारोपणपछि खाने औषधिले रक्तचाप, सुगर र युरिक एसिडसमेत बढाउन सक्ने र संक्रमणको जोखिम पनि बढी हुने भएकाले धेरै मानिससँग सम्पर्कमा नरहन उनलाई चिकित्सकले सुझाव दिएका छन्। स्वास्थ्य समस्याकै कारण खानामा मुख बार्ने गरेका ओली अहिले पनि खाना खानुअघि थाल, कचौरा र चम्चालाई उमालेको पानीले पखालेपछि मात्र ती भाँडामा खाना खान्छन्। थाल र भा“डाकु“डामा किटाणुहरूको संक्रमण हुने भएकाले तातोपानीले भा“डा निर्मलीकरण गर्नुपरेको हो। उनलाई राति आ“खा नदेख्ने समस्या पनि छ।
भारतमा डेढ महिना लामो उपचार गरी फर्केको १२ दिनमै स्वास्थ्यमा पुनः समस्या देखिएपछि ओली १४ वैशाखमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। अस्पतालले क्रिप्टोकोकल म्यानेन्जाइटिसको संक्रमण देखापरेको भन्दै औषधि चलाउन सुरु गरेको थियो। १७ वैशाखमा एयर एम्बुलेन्समार्फत ओली थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा उपचारका लागि गएका थिए।
झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले
झलनाथ खनाल राति आँखा देख्दैनन्। रतन्धोको समस्या भएका उनी अँध्यारो भएपछि सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन्। विद्यार्थी राजनीति गर्दा नै खनाललाई टीबी भएको थियो। उपचारपछि टीबी त निको भयो तर त्यसको ‘साइडइफेक्ट’का रूपमा उनलाई आँखा नदेख्ने रोगले गाँजेको उनका निकटहरू बताउँछन्। खनाललाई मुटुको पनि समस्या छ। उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेपछि उनी नियमित चेकजाँच गराउँछन्। उनलाई मिर्गौला र प्रोस्टेटको समस्या पनि देखिन थालेको बताइन्छ।
पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष, एनेकपा माओवादी
प्रचण्डलाई उच्च रक्तचाप र मधुमेहको समस्या छ। चिकित्सकहरूकोे सल्लाहअनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन्। हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण अहिले रक्तचाप र सुगर दुवै नियन्त्रणमा रहेका उनी निकटहरू बताउँछन्। प्रचण्ड डा. दामोदार गजुरेलसित नियमित स्वास्थ जाँच गराउँछन्।
मोहन वैद्य, अध्यक्ष, नेकपा–माओवादी
मोहन वैद्यलाई दम र रक्तचापको पुरानै समस्या छ। उनी दुवै रोगको नियमित औषधि सेवन गरिरहेका छन्। उनले खानपिनमा विशेष ख्याल गर्नुपरेको छ।
शेरबहादुर देउवा, वरिष्ठ नेता, नेपाली कांग्रेस
पेट र उच्च रक्तचापको समस्याबाट शेरबहादुर देउवा लामो समयदेखि पीडित छन्। सिंगापुरमा पेटको नियमित परीक्षण गराउन जाने गरेका छन्। पेटमा समस्या देएिपछि चुरोट पिउन छोडेका छन्। पछिल्लो समयमा खानपानमा उनले विशेष ध्यान दिने गरेका छन्।
रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस
लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ उनलाई। यूरिक एसिडका कारण कहिलेकाहीँ खुट्टाको पनि समस्या देखिने गरेको छ। उनी निकट स्रोतका अनुसार अहिले युरिक एसिड नियन्त्रणमा आइसकेको छ। प्रेसर र प्रोस्टेटको नियमित औषधि सेवन गरिरहेका छन् उनी। केही समयअघि पौडेलले प्रोस्टेट र पायल्सको शल्यक्रिया गराएका थिए।
माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा एमाले
उनलाई मुटु र फोक्सोसम्बन्धी समस्या छ। उच्च रक्तचाप पनि छ उनलाई। उनले अहिले नियमित योग र व्यायाम गरिहेका छन्। निमोनिया र पिसाबमा संक्रमणसमेत देखिएपछि नेपाल केही सयमअघि लामै समय अस्पताल बसेका थिए। रोगले च्याप्न थालेपछि नेपालले खानपान र दैनिक व्यवहारमा निकै ध्यान पुर्याबउने गरेका छन्।
डा. बाबुराम भट्टराई, नेता, एनेकपा माओवादी
डा. भट्टराईलाई लामो समयदेखि रक्तचापको समस्या छ। रक्तचाप नियन्त्रण गर्न भट्टराईले नियमित औषधि सेवन गर्दै आएका छन्। उनी खानपिनमा विशेष ध्यान दिन्छन्। चिल्लो/पिरो कम खान्छन्।
कृष्णप्रसाद सिटौला, महामन्त्री, नेपाली कांग्रेस
उनी अहिले गंगालाल हृदय केन्द्रमा छन्। चार वर्षअघि मुटुको शल्यक्रिया गराएका सिटौलालाई उच्च रक्तचाप, सुगरका साथै खुट्टा झमझमाउने समस्या पनि छ।
मुटुका नसा साँघुरिएकाले रक्तप्रवाहमा अवरोध उत्पन्न भएपछि मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट उनको उपचार गरिरहेका छन्। चार वर्षअघि पनि उनलाई यस्तै समस्या भएको थियो।
राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी
उनी नियमित रूपमा उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेका छन्। महतो मर्निङवाक र योग गर्छन्। खानपिनमा सावधानी अपनाइरहेका उनी महिनामा एकपटक डाक्टरकोमा जान्छन्।
उपेन्द्र यादव, अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल
उपेन्द्र यादव पाँच वर्षयता मधुमेहबाट पीडित छन्। उनी दैनिक मधुमेहको औषधि लिन्छन्। व्यायाम र आरामका लागि समय मिलाउन गाह्रो हुने भएकाले उनी खानपिनमा भने विशेष ध्यान दिन्छन्।
महन्थ ठाकुर, अध्यक्ष, तराई मधेश लोकतान्त्रिक पार्टी
महन्थ ठाकुरको दुई वर्षअघि भारतको दिल्लीमा मुटुमा पेसमेकर राखिएको छ। लामो समयदेखि मुटु रोगबाट पीडित ठाकुर पेसमेकर राखेपछि पनि नियमित रूपमा औषधि खान्छन्। उच्च रक्तचाप र मधुमेहको औषधि पनि खान्छन् उनी।
महेन्द्र यादव, अध्यक्ष, तराई मधेश सद्भावना पार्टी
सात वर्षदेखि मधुमेहको नियमित औषधि खान्छन्, महेन्द्र यादव। बिहान योग र व्यायाम गर्ने यादव घरबाट निस्कनुअघि केही खाएरमात्र बाहिरिन्छन्।
शरतसिंह भण्डारी
उनलाई मधुमेहको समस्या छ। उच्च रक्तचापको औषधि पनि नियमित खाइरहेका छन्। हरेक दिन कम्तीमा एक घण्टा व्यायाम गर्ने भण्डारी हप्तामा दुई–तीन दिन मर्निङवाकमा निस्कने गर्छन्।
-शुक्रबार साप्ताहिकबाट













प्रतिक्रिया