
– बिजय शर्मा दर्पण
स्विजरल्याण्ड । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आन्तरिक मामिलामा हस्तक्षेप गरी अघोषित नाकाबन्दी गरेको भन्दै भारतविरुद्ध स्विजरल्याण्डमा प्रदर्शन गरिएको छ ।
भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै सोमबार स्विजरल्याण्डमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी आबद्ध भ्रातृ संस्थाका कार्यकर्ताहरुले नेपालको राष्ट्रिय झण्डा हातमा लिएर राजधानी बर्नमा रहेको भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
भारतीय विस्तारबादको नेपाल खाने दाउ रहेकोले त्यो दाउलाई उल्टाइदिन सबै प्रबासी नेपालीहरु भारतबिरुद्द एकजुट हुनुपर्ने भन्दै स्विजरल्याण्डमा रहेका नेपालीहरुले राजधानी बर्नमा प्रदर्शन गर्दै भारतीय दूतावास घेराउ समेत गरेका छन् । ‘भारतीय हस्तक्षेपको विरोध गरौं, सम्पूर्ण राष्ट्रबादी नेपाली एक होऔँ, भारतीय बिस्तारबाद मुर्दावाद’ जस्ता विभिन्न नाराबाजी गर्दै नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली संघ र नेपाली ऐक्यबद्धता मञ्चको अगुवाइमा प्रदर्शन गरिएको हो ।
अघोषित रुपमा नाकाबन्दी गरेर भारतले अन्तर्राष्ट्रिय पारवहान सन्धिबिरुद्ध काम गरिरहेकाले अघोषित नाकाबन्दीबिरुद्ध भारतीय दूतावासमा ज्ञापनपत्र बुझाईएको नेपाली ऐक्यबद्धता मञ्च स्विसका अध्यक्ष अच्युत फुयालले बताउनुभयो । कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष राम महतो र प्रबासी नेपाली मञ्चका अध्यक्ष संजय मुडवरीले नेपाल स्वाधिन राष्ट्र भएकाले भारतले नेपालमाथि ठाडो निर्देशन दिने अधिकार नभएको हुँदा भारत सरकारलाई दबाब दिने हेतुले भारतीय दूतावासमा प्रदर्शन गरिएको जानकारी दिनुभयो ।
नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियतामाथि भारतको नांगो हस्तक्षेप स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई स्वीकार्य नहुने भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनहरु बिरोध सभामा एकजुट भएका हुन् ।


















प्रतिक्रिया