१ कार्तिक २०८३, आइतबार

विमानस्थलको स्तरोन्नतिपछि स्याउ बेच्न सहज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Appleडोल्पा (त्रिपुराकोट), १० असोज । यहाँको एकमात्र यातायातको साधनका रुपमा रहेको जुफाल विमानस्थलको स्तरोन्नतिपछि कृषकलाई डोल्पाली स्याउ बेच्न सहज भएको छ ।

वर्षौंदेखि बजारको अभावमा बोटमै कुहिने गरेको स्याउ यस वर्षदेखि विमानस्थल हुँदै जिल्ला बाहिर निर्यात गर्न थालिएको छ । सडकको पहुँचको अभावमा अधिकांश स्याउ बोटमै कुहिने गरेकामा हवाई उडानले निर्यात गर्न सहज भएको कृषकले बताएका छन् ।

बजारको अभावमा गत वर्ष नगन्यमात्रामा स्थानीय बजारमा स्याउ बिक्री भए तापनि यस वर्ष कच्ची हवाई मैदानलाई स्तरोन्नति गरी रोडा बिछ्याइएपछि साना विमानले दैनिक ४०० किलोभन्दा बढी स्याउ ओसार्ने गरेको विमान कम्पनीले जनाएका छन् ।

विमानस्थलको पूर्णरुपमा स्तरोन्नति गरिएपछि डोल्पाली उत्पादनलाई सहजै रुपमा जिल्ला बाहिर निर्यात गरी आयआर्जन गर्न सकिने अवस्था सिर्जना भएको स्थानीय पूर्ण डाँगीले बताउनुभयो । भदौको पहिलो सातादेखि नै दैनिक चार वटाभन्दा बढी टुइनेटर विमानले स्याउ ओसार्ने गरेको विमानस्थलले जनाएको छ ।

यस वर्षदेखि स्याउ हवाइजहाजबाट नेपालगञ्ज, दाङ, सुर्खेत, रुकुमलगायतका ठाउँमा पुग्ने गरेको स्थानीय स्याउ कृषक श्रीदल बुढाले जानकारी दिनुभयो । डोल्पाली स्याउको मूल्य जिल्लामा प्रतिकिलो रु ३० देखि रु ४० परे तापनि जिल्ला बाहिरका बजारमा प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

डोल्पालीको यार्सागुम्बापछिको मुख्य आयस्रोतका रुपमा स्याउखेती रहेको छ । विमानस्थलको स्तरोन्नतिपश्चात् दैनिक साना विमानले स्याउ ओसार्ने गरेको विमानस्थल सुरक्षा प्रमुख कृष्णबहादुर डिसीले बताउनुभयो । रासस