काठमाडौं, ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहनुभएका वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा इटलीको राजधानी मिलान प्रस्थान गर्दै हुनुहुन्छ ।
मन्त्री थापा आज (सोमबार)राति साढे नौ बजे मिलान प्रस्थान गर्ने कार्यक्रम रहेको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । मन्त्री थापाका साथ मन्त्रालयका सहसचिव जीवराज कोइरालापनि जाँदै हुनुहुन्छ ।
मिलानमा जारी व्यापार मेला ‘एक्सपो– २०१५’ मा ‘नेपाल डे’को उद्घाटनका लागि वाणिज्यमन्त्री थापा त्यसतर्फ जान लाग्नुभएको हो ।
सेप्टेम्बर २३ मा मिलानको व्यापार मेलामा ‘नेपाल डे’ परेको छ । सो दिन नेपालका मन्त्रीले मेलाको उद्घाटन गर्नुपर्ने आयोजकको सूचीमा उल्लेख छ ।
मे– १ देखि सुरु भएको व्यापार मेलामा नेपालले पनि आफ्नो स्टल राखेको छ । स्टलमा पशुपतिनाथको मन्दिर र बौद्धस्तुपा निर्माण गरेर राखिएको छ ।
मिलानमा जारी एक्सपो– २०१५ को अवलोकनका लागि दैनिक ७० हजारसम्म दर्शक आउने गरेको सहसचिव कोइरालाले जानकारी दिनुभयो । नेपाल डेको उद्घाटन सक्किएपछि वाणिज्यमन्त्री थापा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।















प्रतिक्रिया