
महेन्द्रनगर, ३ असोज । नयाँ संविधानको देशैभरी स्वागत र दीपावली मनाइरहेका बेला कञ्चनपुरको कृष्णपुर गाविसमा पनि भव्य स्वागत गरिएको छ ।
कृष्णपुर-२ स्थित वाणीमा राजनीतिक दल, नागरिक समाज, व्यापारी, वाणी बजार व्यवस्थापन समिति र स्थानीयले संयुक्त रुपमा नयाँ संविधानको स्वागत गरेका हुन् । संयुक्त स्वागत समारोहमा नेपालको झण्डा फहराउँदै राष्ट्रिय धुन, गीत, र व्याण्ड बाजा बजाएर र्याली निकाली गाउँ गाउँ परिक्रममा गरिएको संयुक्त स्वागत समारोहका एक सदस्य तथा एमाओवादीका युवा नेता अर्जुन साउदले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वागत र्याली कृष्णपुरको वाणी चोकबाट सुरु भई बंक, बनहरा हुँदै मच्छेलीसम्म पुगेको थियो । त्यहाँबाट फर्किएर वाणी बजारमा कोणसभामा परिणत भएको थियो । कोणसभा लगत्तै काठमाडौंमा संविधान घोषणा हुँदा दीप प्रज्वलन गरिएको थियो ।
कोणसभाको सञ्चालन गर्दै युवा नेता साउदले नेपाल एक युगबाट अर्काे युगमा प्रवेश गरेको दिनलाई भव्यताका साथ मनाउन आम नागरिकलाई आग्रह गर्नुभयो । स्वागत समारोहमा नेपाली कांग्रेसका नेता बलराम पन्त, नेकपा एमालेका नेता मोहनसिंह रावल र एमाओवादी नेता महेशदत्त जोशीले नयाँ संविधानले देशलाई समृद्धिको बाटोमा लैजाने धारणा राख्नुभएको थियो ।
कोण सभापछि अविर लगाएर खुसी सटासाट तथा शुभकामना आदानप्रदान गरिएको थियो । साथै मिठाइ बाँडेर मुख मिठा गरिएको थियो । नयाँ संविधानको स्वागत गर्न महिला बालबालिकासहित हजारौं नागरिक चोक चोकमा भेला भएर संयुक्त र्यालीमा सहभागी भएका थिए ।



















प्रतिक्रिया