काठमाडौं, ३ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित बनेको छ ।
नेपालको संविधान २०७२ को विरोधमा विप्लव माओवादीले आज नेपाल बन्दको आह्वान गरेको हो । बन्दका कारण राजधानीका जनजीवन प्रभावित बनेको छ । बन्द अपरान्ह पाँच बजेसम्म कायम रहने प्रवक्ता खड्क विश्वकर्माले जानकारी दिनुभयो ।
उता, बन्दका क्रममा प्रहरीले विप्लव माओवादीका दश नेता तथा कार्यकर्तालाई पोखराबाट पक्राउ गरेको छ । बन्दका क्रममा तोडफोड गर्ने एवम् सवारी आवागमन अबरुद्ध बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
त्यसैगरी, विप्लव माओवादीले बन्दका क्रममा राजधानीका विभिन्न स्थानमा कोणसभाको कार्यक्रम पनि राखेको छ ।
यसैबीच, संघीय समाजवादी फोरम नेपालसहितका दुई दर्जन बढी दलहरूले पनि राजधानीमा प्रदर्शन गरेका छन् ।
नेपालको संविधान २०७२ ले आदिवासी जनजाति, दलित, मधेसीलगायतको माग सम्बोधन नभएको भन्दै प्रदर्शन गरेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उता, विभिन्न समूहको बन्द, प्रदर्शन र विरोधका कार्यक्रमलाई ध्यानमा राखेर सुरक्षा निकायले राजधानीसहित मुलुकभरिको सुरक्षा व्यवस्था कडा बनाएको छ । (तस्बिर :विमल योगी)


































प्रतिक्रिया