लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य, चर्चित समाजसेवी एवम् सफल व्यवसायी कुल आचार्यले संघको युरोप क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेलाई स्वागत गर्न लण्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित समारोहमा उनले त्यस्तो घोषणा गरेका हुन्।
एनआरएन युकेका पूर्व अध्यक्ष समेत रहेका आचार्यले गएको झण्डै एक दशकदेखि युरोपमा बसेर गैरआवासीय नेपालीहरुको मर्का, व्यथा नजीकबाट बुझेको र संघको छहारी मुनि बसेर ती समस्या समाधान गर्न सक्दो पहल गर्ने उद्देश्यले आफुले उम्मेदवारी दिन लागेको बताए।
उनले आफुलाई सघाउन सबैलाई अपील पनि गरे।
२०११/१३ मा एनआरएन युकेको अध्यक्ष पदमा निर्वाचित उनले थुप्रै कल्याणकारी कामहरु गरेका थिए ।
नेपाल पत्रकार महासंघ युके शाखासंगको सहकार्यमा पत्रकार कल्याण कोषको स्थापना होस् वा नेप्लीज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा जुम्ला जिल्लामा सुत्केरी सेवा उपलब्ध गराउन बर्दिङ सेन्टर स्थापना गर्ने अभियान, सबैमा आचार्यको नेतृत्वदायी भूमिका रह्यो।
यसैगरी नेपालका जेठा मध्येका ओलम्पिक धावक भूपेन्द्र सिलवाललाई लण्डन ओलम्पिक २०१२ का अवसरमा बेलायत ल्याउन पहल गरेका थिए।
उनकै कार्यकालमा पहिलो पटक अन्तर्राष्टिू्य नारी दिवसलाई एनआरएन युकेको वार्षिक क्यालेण्डरमा राखिएको थियो।
आफ्नो जन्मथलो पर्वतको धाइरिङमा आफ्नै पिताको नाममा उच्चमाध्यमिक विद्यालयलाई सहयोग गर्ने देखि लिएर कुश्मामा पाठशाला बनाउन समेत उनले सहयोग गरेका छन् ।
गाउँठाउँका मठमन्दिर, पाटी पौवा बनाउन सँधै मन र हात खुला गर्ने आचार्य हरेक पटक नेपाल पुगेका बेला कुनै न कुनै कल्याणकारी काममा जुटिहाल्छन्।
बाग्मती नदी किनारमा एनआरएनएको पहलमा बनाइन लागेको शंखमूल पार्क निर्माणको संयोजन गरिरहेका आचार्य भूकम्प पछि दुई पटक नेपाल पुगेर आफै उद्धार तथा राहत कार्यमा सहभागी भएका थिए ।
गैरआवासीय नेपाली संघको आफ्नै भवन बनाउने अभियानमा व्यक्तिगत तथा सामूहिक सहयोग जुटाउन खटेका आचार्य नेपाली नागरिकताको निरन्तरताको सवालमा संघका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय भेलाहरुमा लगातार सकृय रहँदै आएका छन्।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कल्याणकारी तथा मानवीय मामिला समितिको सहअध्यक्ष भएर काम गरिसकेका आचार्यले विद्यार्थीहरुका समस्या हुन् वा न्याय र समानताकालागि भूतपूर्व गोर्खाहरुले थालेको अभियान, सबैमा गैरआवासीय नेपाली संघको एक सिपाहीको रुपमा सँधै हातमा हात मिलाएर, काँधमा काँध मिलाएर अघि बढ्दै आएको स्मरण गरे।
“युरोपमा बिचल्ली बनाएका नेपालीहरुदेखि विभिन्न पेशा, व्यवसाय तथा बौद्धिक क्षेत्रमा विशिष्ट स्थान बनाएर काम गरिरहनु भएका कैयौं नेपालीसंग मैले संगत गरेको छु। यहाँ बस्ने नेपालीहरुको समस्या मैले नजीकबाट बुझेको छु। युरोपका विभिन्न मुलुकहरुमा अद्यापि कायम रहेको आर्थिक मन्दी, आप्रवासी समुदायप्रति बढ्दो रोष तथा अधिकांश पहिलो पुस्ताको प्रवासी नेपाली समुदायले भोग्नु परिरहेका समस्याहरुलाई गैरआवासीय नेपाली अभियानको छाता मुनि रहेर समाधान गर्न सक्दो प्रयास गर्ने उद्देश्य लिएर मैले संघको युरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,” उनले भने।















प्रतिक्रिया